देशको परिवर्तनका लागि बाम एकता–प्रचण्ड

1977
views

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक र सामाजिक विकासका लागि कम्युनिस्ट पार्टीकाबीच एकता हुन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी बनाउने दाबी गर्दै एकतापछि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको विघटन हुने बताए ।
प्रचण्डले विगतको आफ्नो पार्टी हिजो मोटो मशाल विघटन नभएको भए एकता(केन्द्र बन्ने थिएन, एकता (केन्द्र विघटन नभएको भए माओवादी बन्ने थिएन भन्दै समयको मागअनुसार पार्टी बन्ने र एकीकृत हुने भएकाले यसलाई अन्यथा रुपमा नलिन आग्रह गरे ।
अहिलेको तालमेल र एकता समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न विशाल शक्ति सञ्चयका लागि हो, प्रचण्डले भने ‘वाम तालमेल र एकताले देश परिवर्तनका लागि ठूलो तागत सिर्जना हुने दाबी गरे ।
कार्यक्रममा माओवादीका नेता वर्षमान पुनले पार्टी एकता हुने विषयलाई सकारात्मकरुपमा अगाडि बढाएर देश र जनताको मन जित्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।