बाम एकतापछिको चर्चा, ‘चुनावको मिति सार्ने प्रस्ताव’

765
views

काठमाडौं– बाम गठबन्धनपछिको तरङ्ग चुनाव सार्ने बनेको छ । आगामी मंसिर १० र २१ गतेलाई तोकिएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति सार्ने सरकारी कसरतले राजनीतिक बृत्तमा तरङ्ग फैलिएको छ । विगतको सरकारले निर्वाचन मिति सारेको नजिर पनि कायम छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० गतेको निर्वाचन मंसिर २१ मा गर्ने प्रस्ताव पछि ठूलै चर्चा परिचर्चा भएको हो । तर, प्रतिपक्षी दलहरुले भने बाम गठबन्धन भत्काउने षडयन्त्र भएको टिप्पणी गरेका छन् । प्रतिपक्षि दलहरुले पटक पटक मिति सारेर बैशाख–जेठमा पुर्याउने खेलमा लागेको हुनसक्ने आशंका गर्दै निर्वाचन नसार्न सुझाव दिएका छन् ।
प्रस्ताव पुग्यो शीतलनिवास
प्रधानमन्त्री देउवाले सोमबार मात्रै चुनाव सार्ने प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुर्याएका छन् । देउवाका विश्वासपात्रसमेत रहेका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सोमबार मंसिर १० को निर्वाचन मिति सारेर मंसिर २१ मा एकैपटक गर्ने सरकारी प्रस्ताव बोकेर राष्ट्रपति कार्यलय शीतलनिवास पुगेका हुन् ।
चुनाव सार्ने प्रस्तावप्रति राष्ट्रपति भण्डारीले असहमति जनाउदै सवै दलको सहमति जुटाएमात्र मिति परिवर्तन गर्न सकिने प्राबधानलाई ख्याल गर्न सुझाव दिएकी थिइन् ।
सरकारलाई मिति नर्सान एमालेको चेतावनी
सरकारले निर्वाचन मिति सार्ने तयारी गरेको थाहा पाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार स्थायी कमिटिको बैठक नै राखेर त्यसबारे छलफल गरेको छ । बैठकले तोकिएको मितिमा चुनाव नभए लोकतन्त्र नै गुम्ने खतरा आइपर्ने भन्दै निर्वाचन मिति फेरवदल नगर्न सरकारलाई चेतावनी समेत दिएको छ ।
आयोग भन्छ– सम्भावनै छैन
निर्वाचन मिति सर्ने चर्चा परिचर्चाबारे आयोग प्रवक्ता नवराज ढकालले बजारमा आएका समचारहरुप्रति आयोगको समेत ध्यान गएको भन्दै निर्वाचन सर्ने कुनैपनि सम्भावना नभएको बताए । प्रवक्ता ढकालले मंसिर १० र २१ का लागि आयोगले तयारी तीव्र पारिसकेकाले आयोगले मिति सर्ने कल्पना समेत गर्न नसक्ने बताए । उनले कानुन त निर्वाचन मिति सरकारले नै तोक्ने वा परिवर्तन गर्नसक्ने भएपनि आयोगको समेत सल्लाहमा हुने गरेको प्रतिक्रिया दिए ।