भुकम्पले क्षतिग्रस्त तातोपानी नाका खुलाउन पहल जारी

1069
views

नवदृष्टि संवाददाता
काठमाण्डौ । भूकम्पका कारण क्षतिग्रस्त भएपछि बन्द रहेको सिन्धुपाल्चोकस्थित बहुचर्चित तातोपानी नाका खुलाउने बारे अझै प्रयास जारी रहेको छ । तातोपानी नाका खुलाउन आफ्नो चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सि जिनपिङसँग सो नाका खुलाउन बार्ता गरेपनि अहिले सम्म नाका खोल्ने बारे चिनियाँ पक्ष सकारात्मक देखिएको छैन । यसैक्रममा सरकारले हालै नयाँ भन्सार प्रमुखलाई सो नाकामा खटाएको छ । प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतलाई सो नाकाको जिम्मेवारी दिएर पठाएको हो ।

प्रमुख बस्नेतलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले एक कार्यक्रमका साथ स्वागत गरेको छ । बाह्रविसेमा भएको सो कार्यक्रममा संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बन्द भन्सार नाका खुलाएर व्यापारिक कारोबार सूचारु गर्न गराउन विशेष पहल गरिदिन आग्रह गरेका छन् । उनले यस नाका सञ्चालन नहुँदा दैनिक ५ करोड रुपैयाँको दरमा राजस्व गुमेको भन्दै तत्काल सो नाका खुलाउन पहल गरिदिन आग्रह गरेको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले यस अधि सवै दल र सरकारलाई समेत सक्दो प्रयास गरेको बताए ।कार्यक्रममा भन्सार प्रमुस बस्नेतले नाका जतिसक्दो चाँडो सूचारु गर्न आफ्नो पक्षबाट सक्दो प्रयास गर्ने बताए ।

तातोपानी नाका खुलाउन आग्रह गर्दै सिन्धुपाल्चोकले सरकारी प्रमुख, प्रधानमन्त्री लगायतलाई आग्रह गर्र्दै ज्ञापन पत्र समेत बुझाइसकेको छ । तातोपानी नाका खुलाउन माग गर्दै नेपाल हिमालय सिमापार व्यापार संघ, टक कन्टेनर संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको टोली प्रधानमन्त्रीलाई भेटेर आग्रह गरेपनि कुनै सुनुवाई नभएको दाबी व्यवसायीहरुको रहेको छ ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पपछि तातोपानी नाका बन्द छ । चीनले तातोपानी नाकाबाट सुन तस्करी, मानव तस्करी र तिब्बती शरणार्थीको गतिविधि रोक्न भन्दै खुलाउन आनाकानी गर्दै आएको छ ।
तातोपानी नाका बन्द हुँदा चीनसँगको व्यापार अहिले रसुवागढी नाकाबाट मात्रै भइरहेको छ । तातोपानी नाका बन्द हुँदा राज्यले अहिले ५ करोड राजस्व गुमाइरहेको छ । घटना र विचारबाट