राष्ट्रपति विद्यादेवी भण्डारी भारत प्रस्थान

516
views

नवदृष्टि संवाददाता
काठमाण्डौं, ४, बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ३० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार (आज) छिमेकी मुलुक भारत प्रस्थान गरेकी छिन् । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी भारत लागेकी हुन । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण तथा उच्च सरकारी अधिकारीहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन्
भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवल गायतको टोली सहभागी हुनेछ । राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा निगमको फ्लाइटबाट भारत प्रस्थान गरेकी हुन् ।
राष्ट्रपतिको कार्यभार सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले १७ कात्तिकमा नेपालको राजकीय भ्रमण गरेका थिए । नेपाल भ्रमणकै क्रममा भारतीय राष्ट्रपति मुखर्जीले भण्डारीलाई भारत भ्रमणको निम्तो दिएका थिए । भ्रमणका बेला राष्ट्रपति भण्डारी दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछिन् । भ्रमणको पहिलो दिन ४ वैशाखमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा राष्ट्रपति भण्डारी सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दिल्ली भ्रमणका क्रममा उनलाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ (सलामी) अपर्ण गर्ने कार्यक्रम रहेको छ । वैशाख ५ गते भारतीय राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा सहभागी भएको बेला राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनर प्रदान गरिनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै, भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सत्तारूढ दल भाजपाका साथै विपक्षी कांग्रेसका उच्च नेतृत्वसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको समेत भ्रमण गर्ने कार्यतालिका छ । राष्ट्रपति भण्डारी ८ वैशाख (शुक्रबार) स्वदेश फर्कनेछिन् ।
यसअघि सरकारले राष्ट्रपति विद्यादेवि भण्डारीको भारत भ्रमणमा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भ्रमण स्वीकृत गर्दै राष्ट्रपति भारत प्रस्थान गर्ने दिन आज (सोमबार) र फर्कने दिन शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गणतन्त्र आउनुअघि राजाको औपचारिक विदेश भ्रमणका क्रममा सार्वजनिक बिदा दिने प्रचलन थियो । राजा विदेश जाने र फर्कने दिन सार्वजनिक बिदा दिइन्थ्यो । तर, राजतन्त्र हटेपछि प्रथम राष्ट्रपति डा. रामवरण यादवले भारतको भ्रमण गर्दा सार्वजनिक बिदा दिइएको थिएन ।
त्यतिबेला पनि गृह मन्त्रालयले परम्परा पछ्याउँदै बिदाको प्रस्ताव गरेको थियो । तर, माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले सो प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपतिको भ्रमणमा बिदा दिएको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि सार्वजनिक बिदा दिएको थियो । जसको चौतर्फी आलोचना भएको थियो ।