वाम एकता हुँदा कांग्रेस आत्तिनु पर्दैन, कम्युनिष्ट एकता १० बर्षको प्रयास-दाहाल

418
views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै वाम शक्ति एक ठाउँ हुँदा कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । दहालले विगत १० वर्षदेखि कम्युनिस्टलाई एकतामा ल्याउन पहल गर्दै आएको र त्यही लक्ष्य पूरा गर्ने प्रक्रियामा रहेको प्रष्ट पार्दै कांग्रेसलाई वाम एकतासँग नतर्सिन आग्रह गरेका हुन ।
उनले ’वाम गठबन्धनलाई विचारको एकताको प्रयास भएको र निर्वाचन प्रयोजनका लागि एकता भएको बताउँदै भने, ‘अहिले देशमा राजनीतिक अस्थिरता पैदा गर्ने सरकार ढाल्ने कुनै नियत छैन । मैले सुरुमै पनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेको थिए, यो सरकारका विरुद्ध परिलक्षित होइन ।’
दाहालले देउवाले आफूलाई विश्वास नगरेको तर आफू सरकार गठनताका भएको सम्झौताविरुद्ध अगाडि नबढेको उल्लेख गरे ।
‘हामीले भन्दाभन्दा पनि प्रधानमन्त्रीज्यूलाई विश्वास भएन । मैले सरकार गिराउने खेलका निम्ति होइन । विचारका निम्ति शक्ति एकीकृत गर्ने बाहेक अन्य कुनै लक्ष्य छैन भन्ने कुरालाई पटकपटक प्रष्ट पारेको छु । आज पनि त्यही भन्न चाहन्छु’, उनले भने ।
प्रचण्डले अन्तराष्ट्रिय समूहलाई समेत आर्थिक समृद्धितर्फ अघि बढ्दै गरेको देशमा भएको राजनीति गठबन्धनलाई अनावश्यक शंका नगर्न आग्रह गरे ।
संविधान बन्नुपर्छ भनेर सबैभन्दा बढी बलिदान गरेको पार्टी र नेता भएको नाताले अघिल्लो संविधानसभाबाट संविधान नबन्दा आफू चिन्तित भएको दाहालकोे भनाइ छ । उनले पहिलो संविधानसभाबाट संविधान नबनेपछि दोस्रो संविधानसभालाई सफल बनाउन हामी सचेत भएको स्पष्ट पारे।
कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न पाएकोमा कांग्रेसप्रति धन्यवाद दिँदै प्रचण्डले उक्त अवधिमा आफूले सबैका निम्ति काम गरेको दाबी गरे ।