जर्मनीका दुई मेडिकल इन्जिनियर बेनी अस्पतालको फोहर व्यवस्थापनमा

709
views

बेनी, (म्याग्दी) असोज ३१ गते । बेनी आएका जर्मनका दुई मेडिकल ईन्जिनियरले अस्पतालको फोहर व्यवस्थापनमा सघाइरहेका छन् ।
तीन साता अगाडि नेपाल आएका जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्यनरत मेक्सिमिलियनल र एन्टोनियाले अस्पतालभित्र दैनिक संकलन गरिने फोहरको वर्गीकरण र विसर्जनको विधिसहित अन्तराष्ट्रिय मापदण्डको फोहर विसर्जनका लागि इन्सिनेटर प्रविधि जडान गरेका छन् ।
जर्मनको एक गैरसरकारी संस्था र बेनी अस्पतालको संयुक्त लगानीमा जर्मन र भारतमा निर्मित सो प्रविधि उपयोगमा ल्याउनुका साथै अस्पतालभित्र जलाउन मिल्ने र नमिल्ने फोहरको वर्गीकरण र विसर्जन गर्ने तरिका, फोहर संकलन गर्दा अपनाउनुपर्ने विधिलगायतका विषयमा चिकित्सक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई तालीमसमेत दिइएको अस्पताल प्रमुख डा. रोशन न्यौपानेले बताउनुभयो ।
फोहर विसर्जनका लागि बनाइएको इन्सिनेटर नजिक फोहरको प्रकारका बारेमा जानकारी दिने सूचना, फोहर राख्ने कोठासमेत बनाइएको छ । जर्मनमा रहेको एक गैरसरकारी संस्था र बेनी अस्पतालको लागतमा निर्मित इन्सिनेटरमा आवश्यक पर्ने प्रविधिसमेत जर्मन र भारतबाट ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
अस्पतालबाट निस्किने ६० देखि ८० प्रतिशतसम्म फोहर संक्रमित फोहर नहुने र बाँकी फोहर संक्रमित हुने भएकाले पनि फोहर विसर्जनमा सचेत हुनुपर्ने जर्मनी मेडिकल इन्जिनियर मेक्सिमिलियनको भनाइ छ ।
युरोपका अस्पतालमा चिकित्सक जस्तै महत्व फोहर व्यवस्थापनलाई दिने गरिएको छ भन्दै उहाँले अस्पतालभित्र देखिने फोहरले बिरामीको अपमान हुने बताउनुभयो । बेनी अस्पतालमा काम गर्ने क्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीबाट अपेक्षा गरेभन्दा धेरै राम्रो सहयोग पाएको बताउँदै इन्जिनियर मेक्सिमिलियनले आगामी दिनमा पनि यस अस्पतालमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
फोहरलाई जैविक र अजैविक गरी छुट्याउने तरिकाबारे कार्यालय सहयोगीलाई जानकारी गराइएकाले काममा सहज भएको अस्पतालले जनाएको छ ।