राष्ट्रिय जनमोर्चाभित्र खैलाबैला ल्याउने एमाले–माके गठबन्धनको षडयन्त्रपूर्ण चाल

1313
views

विजय राना
बाग्लुङ, ३१, असोज । एमाले–माओवादी गठवन्धनलाई राजमोले षडयन्त्रको चाल भनेको छ । बागलुङ जिल्लाको १ नम्बर क्षेत्रमा निवर्तमान सांसद एवं पार्टी अध्यक्ष चित्रबहादुर केसीलाई उमेदवार बनाएमा राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेल हुनसक्ने संभावना अघि सारेपछी राजमोले यसलाई एमाले माओवादीको गम्भीर षडयन्त्र भएको बताउँदै कडा टिप्पणी गरेको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला पार्टी अध्यक्ष अमर थापालाई जस्तोसुकै परिस्थितिमा पनि उमेदवार परिवर्तन नहुने गरि पहिले नै निर्णय गरेको छ । यसैबीच राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले माओवादी–एमालेहरु आफ्नो पार्टीमा चलखेल गर्ने प्रयत्न गरेको भन्दै त्यस्तो दुस्साहस नगर्न चेतावनी दिएका छन् ।
अध्यक्ष थापाले आगामी मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनको लागि पार्टीले सिफारिस गरेका व्यक्तिहरु बाहेक अन्यलाई उमेदवार गराउनुपर्छ भन्ने एमाले–माओवादीको तर्क जायज नभएको बताए ।
उनले माओवादी–एमालेको चरित्रले बाम एकतामा नै बाधा पुग्ने भन्दै बाम चुनावी तालमेलकै पक्षमा रहेको तर एमाले–माओवादीको जनमोर्चा माथि खेल्ने प्रयत्नले सम्बन्ध बिगार्ने स्पष्ट पारे ।
जनमोर्चाले गरेको सिफारिस बिपरीत एमाले–माओवादी गठबन्धनले बागलुङमा चित्रबहादुर केसीलाई उमेदवार बनाउनु पर्छ भन्नु र प्युठानमा मोहन बिक्रमलाई उम्मेदवार गराउन आग्रह गर्नुले माओवादी–एमाले गठबन्धनले बाम गठबन्धनमा समस्या पैदा गरेको थापाको भनाई छ ।
थापाले चुनावको लागि सबै दलहरु संग तालमेलको सम्भावना बराबर रहेको समेत स्पष्ट पार्दै केन्द्रमा बामपन्थीहरु संगको तालमेलमा जोड दिइए पनि अहिलेको बागलुङको अवस्था फरक रहेको बताए ।