थ्रेस होल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान रोक्दैन् –बिजुक्छे

730
views

भक्तपुर, १, कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोप लगाउँदै थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न नसक्ने बताउनुभयो ।
अध्यक्ष विजुक्छेले पञ्चायतकालमा समेत जनताको बीच गएको नेमकिपा जनताको मतबाटै राष्ट्रिय पार्टी हुने बताउनुभयो । उहाँले मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउनुभयो ।
देश गम्भिर संकटमा फसेको बताउँदै विजुक्छेले देशलाई जोगाउन नेमकिपा संसद्मा पुग्नु जरुरी रहेको जिकिर गर्नुभयो । सरकारले ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेश नगरेकोप्रति चर्को आलोचना गर्दै बिजुक्छेले सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा नरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, केन्द्रीय सदस्यहरु डिल्लीप्रसाद काफ्ले र केस तथा काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्य, केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जन, केन्द्रीय सदस्य अनुराधा थापामगर, भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, उपाध्यक्ष सुरेन्द्रराज गोसाई, नेक्रावि संघका अध्यक्ष नीरज लवजूलगायतले भारतको इशारामा वाम तथा लोकतान्त्रिक गठबन्धन भएको आरोप लगाउनुभयो ।