४१ लाख ठगेर फरार दुईजना सिआईबीको टोलीद्वारा पक्राउ

755
views

काठमाडौं, १ कात्तिक । प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले ४१ लाख ठगी गरेर फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
०७३ कात्तिक २२ गते काठमाण्डौ जिल्ला अदालतको फैसलाले ठगी मुद्दामा जनही २ बर्ष कैद र ८ लाख १७ हजार ९ सय ३३ रुपैयाँ जरीवाना हुने ठहर गरेपछि फरार रहेका प्रतिवादीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने नुवाकोट वुङताङबका ३९ वर्षीय भाग्यमान तामाङ र काठमाडौंको टोखा बस्ने गोरखा मान्वोका ४१ वर्षीय महेन्द्र गुरुङ रहेका छन् ।
तामाङ काठमाडौंको धर्मस्थलीबाट र गुरुङलाई टोखाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको जनाइएको छ ।
प्रतिबादी तामाङ समेतका ३ जनाले वैदेशिक रोजगारको लागि इजरायल, मकाउ र कोरिया समेतका देशमा आकर्षक तलब सुबिधामा पठाउने भन्दै ३२ जनाबाट सक्कल राहदानी लिई पटक पटक गरी ४१ लाख रुपैयाँ बुझी लिएकोमा रोजगारीको लागि बिदेश पठाउने प्रकृया समेत नगरी रकम र राहदानी लिई सम्पर्क बिहिन भएका थिए ।