पहाडी जिल्लामा बालीघरे सूचना प्रथा विश्वासिलो र भरपर्दो

1384
views

महेन्द्र जिसी
पर्वत, १ कात्तिक । पहाडी जिल्ला पर्वतमा अझै बालीघरे सूचना प्रथा कायम नै रहेको छ । सूचना र प्रविधिको विकासले सहरबजार मात्रै नभइ दूरदराजका गाउँहरु समेत आधुनिक सञ्चारको पहुँचमा पुगिरहेका बेला बालीघरे प्रथा अझै हटेको छैन् ।
गाविसहरु नगर र गाउँपालिका निर्माणको चटारोमा रहेका बेला शताव्दी अघिको सूचना पुर्याउने कटुवाल प्रथामा भने परिवर्तन आएको छैन । यो सञ्चार प्रथा झन भरपर्दाे र विश्वासिलो बन्दै गएको छ । कुश्मा नगरपालिका ३ दुर्लुङका खिम बहादुर नेपाली र प्रेम बहादुर कटुवालले दुर्लुङ कोटमा पुगेर कर्नाल बजाएपछि घरभित्रका गाउँले कान थाप्दै बाहिर निस्किन्छन् । यसै सूचनाले गाउँलेहरु सामूहिक कार्यक्रममा भेला हुन्छन । गाउँमा अतिथि आउँदा होस् या कुनै सभा समारोह हुँदा होस् यहाँको सुचना दिने भरपर्दो माध्यम यही हो ।
दुर्लुङकोटको सम्पुर्ण सूचनाको जिम्मेवारी यिनैको जिम्मामा छ । यो उनिहरुको दुई दशक पुरानो पेशा हो । पञ्चायत कालदेखीको बालीघरे कटुवाल प्रथा अहिले पनि कायमै छ । जिवन भर कटुवाल बाहेक कुनै पनि पेशा नगरेका प्रेमले सरकारले यसै पेशामा आँफुहरुलाई पेन्सन गराउनु पर्ने बताउँछन् ।

प्रेम कटुवाल र खिमबहादुर गरी दुई जनाले नगरपालिका ३ मा कटुवाल पेशा गर्दैै आएका छन । सामुदायिक वनमा दाउरा काट्ने फुकुवा गर्ने जानकारी देखी सभा समारोहका सूचना यिनिहरुले नै कर्नाल फुकेर दिने चलन छ । यि कटुवालद्वयले यो सूचना दिएपछि अन्न उठाउँछन् र उनिहरुको परिवार पनि पालिएका छन् ।
खेतीबारी बाँझै रहँदा र गाउँका मान्छे शहर झर्दा भने आम्दानीमा घाटा लागेको उनीहरु बताउँछन् । चारसय कुरीयामा घरधनीले दिएको अन्नपातले परिवार पाल्दै आएको उनिहरुको भनाई छ ।

स्थानीयका अनुसार साविकमा यी दुई बाहेक पाँच जनासम्म कटुवाल रहेका थिए । सञ्चारको पहुँच वृद्धि भएसँगै कतिपयले पेसा परिवर्तन गरेपछि अहिले घटेर दुई जना मात्र रहेका छन् । पर्वतका धेरैजसो गाउँ ठाउँहरुमा यस्तै बालीघरे सूचना प्रथा अहिले पनि कायम सँगै भरपर्दो मानिदै आएको छ ।