जर्ज सोरोसले दिए ओपेन सोसाइटी फाउन्डेसनलाई १८ अर्ब डलर

1228
views

कार्तिक १ गते । ओपेन सोसाइटी फाउन्डेसनका संस्थापक जर्ज सोरोसले आफ्नो १८ अर्ब अमेरिकी डलर फाउन्डेसनको नाममा सारेका छन् । विश्वव्यापी रुपमा प्रजातन्त्र प्रवर्द्धनका लागि सक्रिय सो संस्थाका लागि सोरोसले आफ्ने कूल सम्पत्ति करिब २५ अर्ब डलरमध्येबाट ठूलो हिस्सा प्रदान गरेका हुन्।
करिब १२० राष्ट्रमा सञ्चालित सो फाउन्डेसनले आफ्नो स्थापनाकाल यता करिब १४ अर्ब डलर खर्च गरिसकेको छ। ८७ वर्षीय सोरोसले फाउन्डेसनमार्फत पूर्वी युरोप लगायतको क्षेत्रमा आफ्नो प्रभाव बिस्तार गरेको भन्दै आलोचना पनि हुने गरेको छ।
हंगेरीमा यहुदी परिवारमा जन्मेका सोरोस सन् १९४० को दशकमा नाजीहरुको आक्रमणबाट बच्न बेलायत भागेका थिए। त्यसपछि उनी अमेरिका बसाइ सरेका थिए।
अमेरिकामा लगानीमार्फत व्यवसायिक सफलता हासिल गरेपछि उनले ठूलो मात्रामा रकम दान गर्दै आएका छन्। हालसम्म उनले ३० अर्ब डलरभन्दा बढी रकम दान गरिसकेको बताइएको छ।
यसै वर्ष उनको जन्म स्थान हंगेरीमा ‘विदेशी पैसामार्फत स्थानीय राजनीति नियन्त्रण गर्न खोजेको’ आरोप त्यहाँका नेताहरुले उनीमाथि लगाएका थिए।
ओपेन सोसाइटी फाउन्डेसन अमेरिकामा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनपछिको दोस्रो ठूलो परोपकारी संस्था हो। सोरोस डेमोक्र्या्टिक पार्टीको मुख्य चन्दादाता पनि हुन् । एजेन्सी