देशभर डेढ करोड मतदाता, प्रत्यक्ष र समानुपातिकका लागि छुट्टाछुट्टै मतपत्र

775
views

कार्तिक, २ गते । मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाताले मताधिकार प्रयोग गर्ने आयोगले टुङ्गो लगाएको हो ।
निर्वाचन आयोगका अनुसार मंसिर १० मा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ निर्वाचन क्षेत्रका ३२ लाख २८ हजार आठ सय ७९ जना मतदाताले मताधिकारको प्रयोग गर्न पाउनेछन् । त्यसैगरी, आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि देशभर १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

समानुपातिक निर्वाचनका मतपत्र छापिँदै
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार ९० लाख मतपत्र छापिसकिएको छ । समानुपातिक निर्वाचनका लागि १ करोड ८० लाख मतपत्र आवश्यक पर्छ । ७ कात्तिकभित्र समानुपातिक ८ कात्तिकबाट प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छाप्न सुरु गर्ने तयारी आयोगको छ । मतदान शिक्षाका लागि २० हजार कार्यकर्तापरिचालन गर्ने तयारी भएको आयोगले जनाएको छ ।
कस्ता हुनेछन् मतपत्र ?
आयोगका अनुसार समानुपातिक तथा प्रत्यक्ष निर्वाचनको मतपत्र छुट्टाछुट्टै हुनेछ । दुवै निर्वाचनका लागि एकै प्रकारको ढाँचा तयार गरिएको छ । एउटै पानाको माथिल्लो भाग मतपत्र १ उल्लेख हुनेछ । मतपत्र १ उल्लेख भएको भाग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुनेछ । त्यसैगरी, सोही पानाको तल्लो भागमा मतपत्र २ उल्लेख हुनेछ र त्यो भाग प्रदेश सभा सदस्य निर्वाचनका लागि हुनेछ । डा. यादवका अनुसार समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिनेछ भने प्रत्यक्ष निर्वाचनका लागि मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिनेछ ।