महाकवि देवकोटाको १०८ औं जन्मजयन्ती मनाइँदै

928
views

रिना खनाल २, काठमाण्डौ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा जन्मनुभएका देवकोटाले १० वर्षको उमेरमा कविता लेख्न सुरु गरी थुप्रै महाकाव्य, खन्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित गर्नुभएको छ ।
उहाँको ‘मुनामदन’ खन्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिताका साथै पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापन्डित राहुल साँकृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गर्नुभएको थियो । त्यस्तै नाट्यसम्राट बालकृष्ण समले पनि देवकोटाका ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।
देवकोटाले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खन्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने अदभुत क्षमता थियो । उहाँको आज देश विदेशमा नै जन्मजयन्ति मनाइएको छ ।