कथाः–जुनाको भाइ टीका

1211
views

–राजकुमार श्रेष्ठ
जुना र मुनाको एउटै भाइ थियो सन्देश । गरिब परिवार भए पनि सन्देशको आगमनले परिवारमा थप खुशी र हौसला बढेको थियो । पाँच बर्ष पुगे पछि उसले आमा बुबाको आँखामा आँसु आउन दिन्न सुख दिएर पाल्छु भन्थ्यो । भाइ तिहारमा दिदीहरुलाइ टीका लगाइ दिने म नै हुँ भन्थ्यो । यो कुरा सुने पछि उनीहरुको मनमा खुशीले भरिएर आउथ्यो । तर जब भाइ सन्देश सात बर्षको भयो अत्यधिक चिसो गाडिएको कारण उसलाई निमोनिया भयो । दबाइ गर्न अस्पतालमा लगे पछि बीसको उन्नाइस त भयो । तर दैबको दशा, केही महिना पछि निमोनिया बिग्रेर उसको मृत्युु समेत भयो ।
जुनाको काकाको दुई छोराहरू थिए । उनीहरु पन्ध्र, सोह्र बर्षको उमेरमा भारतीय सैनिकमा भर्ना हुन गएका थिए । दुईपल्ट सम्म प्रयास गर्दा पनि सैनिकमा भर्ना हुन सकेनन् । त्यसैले उतै बन्दा ब्यापार गरेर बसे । उतैको नेपाली केटिहरुसँग मन परापर भएर तिलेमिले भए पछि प्रेम विवाह गरे । अनि उतै घरजम गरेर बसे । उनीहरुको आमा, बुबा र जुनाले समेत पटकपटक फोन गरेर घर बोलाए तर ती दुई दाजुभाइ नेपाल घर फर्किएर आएनन् । केहीसाल उनीहरु भाइटिकामा खाली निधार बसे । सन्देश सानैमा खसे पछिको दिनहरु देखि परिवारमा मन बहलाउन निक्कै गाह्रो भएको अवश्था थियो । अझ जुना र मुना त प्रत्येक साल तिहारको यमपन्चक शुरु भए देखि भाइलाइ सम्झेर रुन्थे, उनीहरुको आँखा पनि पटक्कै ओभानो हुदैनथ्यो ।
एक दिन दिदी जुनाले बहिनी मुनालाइ भनिन्, “हेर मुने एउटा भाइ थियो, तै पनि भगवानले देखि सहेनन्, अन्ततः लगेरै छोडे । धेरै बर्ष बितिसक्यो खाली निधार बसेको आफ्ना भनाउदा दाइहरु पनि फर्केर आउदैनन्, मरे कि बाँचेका छन् केही थाहा छैन । फेरि हामी गरिब छौ तापनी कसैलाइ बिझाउने कुरा पनि त गरेको छैनौ । हाम्रामा त किन नातेदारहरु पनि कमै आउँछन ? सायद उनीहरुले पैसा धेरै कमाएर होला, बेग्लै मन भएको अनि हामीलाई गरिब भनेर हेला गरेको ।“ यस्ता कुराले बहिनी मुनाको छ्याप्पै मन छोयो । उनको मन भित्रै देखि दुखेर आयो, दुख र पीडाले भरियो अनि दिदिलाइ भनिन्, “आजको युगमा नाता, सम्बन्ध, इज्जत, ठाउँमा पुग्ने, केही काम गर्ने सबै पैसाको बलमा हुदोरैछ दिदी, यति कुरा पनि तपाइलाइ थाहा छैन ?“ पैसा कमाउन बिदेश जानैपर्छ भन्दै उनीहरुले पनि बिदेश जाने सल्लाह गरे । तर यसो भन्दैमा हामीले इमान, जमान पो बेच्नु हुन्न त । दिदिबहिनीले गरेको कुरा आमाले पनि सुनी रहनुभएको थियो ।
केही दिनपछि दिदी जुना बिदेश जाने कुराको टुङो भयो । बुबा आमाले भाइ सन्देश लाइ पढाउन भनी राखेको एकलाख रुपैयाँ जुना बिदेश जाने खर्च हुन पुग्यो । बाँकी पैसा गाउँको साहुसँग सयकडा ३ रुपैयाँ ब्याज दरमा ऋण काढेका थिए । केही महिनापछि वैदेशिक रोजगारमा जानको लागि आवश्यक कागजात तैयार गरिन् । उनी संयुक्त राज्य इमिरेट्सको दुबई शहरमा एउटा कम्पनीको रिसेप्सनिष्ट भिसामा गइन् । कक्षा ९ मा पढ्दा उनको साथी शुभेच्छासँग २ महिना मात्रै कम्प्युटर सिक्ने मौका मिलेको थियो । उनले टेलीफोन, फ्याक्स, फोटो कपिको काम गर्दै रहिन् । उनले राम्रो काम गर्दै जादा कम्पनीको साहु पनि खुशी भयो । फेरि केही महिनापछि उनलाइ खाना भत्ता बापत पैसा बढाएर दिन थाल्यो । अब उनले महिनामा साठी हजार रुपैयाँसम्म बचाउन सक्ने भइन् । घरबाट आउदा लागेको ऋण तिरिसके पछि उनले २ वटा राम्रो खाले मोबाइल किनिन् । एउटा आफ्नो लागी र अर्को बहिनीको लागि । मोबाइलको सबै सेटिङहरु आफैंले मिलाइन् अनि फेसबूक, इमो भाइबर पनि सबै राखेर घर पठाइदिइन् । त्यहा देखि उनीहरु प्रत्यक्ष रुपमा घरमा फोन बार्ता गर्न थाले ।
समय बित्दै गयो । जुना घर जाने समय पनि नजिकिदै थियो । उनले दशैमा घर आउन नपाएपनि तिहारमा चै जसरी पनि घर आइपुग्छु भनी बहिनीलाई फोन मार्फत कुरा गरिन् । फोन गरि सकेपछि उनले फेस बूक खोलेर हेर्दै थिइन् । उनको एउटा साथीले शेयर गरेको स्टाटस पढ्न पुगिन् । “ आठ साल भयो भाइटिका लाउनु नपाएर खाली निधार बसेको । कोहि दिदिबहिनी तिहारमा सप्तरङी टीका लगाउनु नपाएर म जस्तै एक्लो बस्नु भएको छ भन्ने सम्पर्क गर्नुहोला ।“ एक्लो भाइ ।
जुनाले पनि उत्तिनै खेर एक्लो भाइलाई फोन सम्पर्क गरिन् । उनीहरु बिचमा परिचय गर्दै केही बेर चेली माइती र चाडबाडको बारेमा केहि कुरा भयो । दुबै जनाले एक अर्कालाइ चेली माइती मानेर तिहारमा भाइ टीका लाउने कुराको निधो गरे । लक्ष्मी पुजाको दिन आफनो घर नजिकैको चोकमा आउनु त्यही भेट्ने भनेर त्यो भाइलाइ आफनो पूरा ठेगाना दिएर बोलाइन् । अनि मुहार पुस्तिकामा साथी बन्न को लागि फ्रेन रिक्वेस्ट पनि पठाइन् । बिस्तारै जुनालाइ फ्रेन रिक्वेस्ट आउने जाने क्रमस् शुरु भयो । अब त उनीलाई फेस बूकमा च्याट गर्दा मात्र हैन, बाटोघाटो वा कम्पनीको कार्यालयमा काम गर्न जादा आउँदा समेत कोही जुना मेडम भन्ने कोहि मैयाँ साब, कोहि दिज्यु अनि कसैले जुनाजी भन्दै हेल्लो हाइ गर्थे । उनी पनि सोही अनुसारले जस्ताको तस्तै गरि मीठो जवाफ दिने गर्थिन ।

आफ्नो आमा र बहिनीलाई फेसबूकमा एउटा भाइ बनाएको र प्रत्येक साल उसैको हातबाट तिहारको भाइ टीका लगाउने कुरा पनि सुनाइन् ।


केही दिन पछि उनी छुट्टीमा तिहार मान्न घर पुगिन् । आफ्नो आमा र बहिनीलाई फेसबूकमा एउटा भाइ बनाएको र प्रत्येक साल उसैको हातबाट तिहारको भाइ टीका लगाउने कुरा पनि सुनाइन् । यो कुरा सुनेर उनीहरु पनि खुशी भए । लक्ष्मी पुजाको दिन उनीहरुले भाइलाइ चोकबाट घर लिएर आए । घरमा पुगेर साँझपख उनीहरुले लक्ष्मी पुजाको तैयारी गरे । जुना र मुनाले घरको बाहिर देखि भित्रसम्म, झ्याल, ढोका अनि बार्दली सर-सफाइ गरेर सिँगार पटार गरि चिटिक्क बनाएका थिए । प्रत्येक झ्याल र प्रवेश ढोकाहरुमा सजावटको लागि बनाइएका रङीचङी कागजका फूलहरुले सजाएका थिए । त्यति मात्रै कहाँ हो र ? फूलका बोटहरुबाट टिपेका ताजा ताजा मखमली, गोदाबारी र सयपत्री फूलका थुङ्गाहरु गासेर बनाइएका मालाहरुले पनि घर सजि सजावट गरिएका थिए । साँझपख घर र गोठको वरपर मैनबत्ति, दियो बत्त र विद्युतीय बत्तिहरु बालेर झलमल्ल बनाए । धन धान्यकी देबि लक्ष्मी माताको पाइला बनाएर घर भित्रसम्म पुर्याए । आगनीमा गाईको बाच्छीको हरियो गोबरले लिपपोत गरेर त्यस माथी रङगोला बनाए । अनि रङ्गोला माथी थालीमा गणेश र लक्ष्मीको फोटो, दियो कलश राखेर घर, गोठमा लक्ष्मी माताले सधै बास होस, परिवारमा रक्षा गरुन् भन्दै फूलपाती रंगिन अक्षता र धुप नैबेध्यहरुले लक्ष्मीको पुजा आजा गरि मनमा खुशी र आनन्द लिंदा भए । दिदीबहिनीहरुले पालैपालो गरि माइतीले लगाउने फूलको माला गासेमा माइती प्रतिको माया, प्रेम र सद्भाब पनि बढ्दै जाने बिश्वास हुन्छ । तसर्थ दुबैजना दिदिबहिनीले सय, सय थुङ्गा मखमली र सयपत्री फूलको माला गाँसेर, सेलरोटी पकाएर रात बिताए ।
पर्सिपल्ट भाइ टीकाको दिन थियो । बिहानै उठेर नुहाइ धुवाइ गरि सफा सुग्घर भइ उनीहरुले भाइटीकाको सम्पूर्ण पुजा सामाग्री तैयार पारे । टीका लगाउने साइतमा भाइलाइ बोलाए । ढोकाको बाहिर पट्टि सिलौटा माथी ओखर र लोहोरो राखे । घर भित्रको भुइँमा चामलको पिठोले गोलाकार रेखी लगाएको ठाउँको अगाडि भाइलाई राखेर दुबैजना दिदिबहिनीले बलेको दियो, कलश र अक्षता हातमा लिएर भाइलाइ तीन पटक घुमे । निधार र शिरमा हल्का शुद्ध खानेतेल दलेर सप्तरङी टीका लगाएर पुजा गर्न थाले । अघिल्लो रात सय थुङ्गा सयपत्री फूलहरु गासेर तैयार पारेको माला ल्याएर गलाभरी लगाइदिए र सगुन खुवाउदै भाइलाइ उपहार पनि दिए । उनीहरुले भाइलाई अर्पण नामले बोलाउन थाले । पाकेका मिठा मिठा खानेकुराहरुले भोजन गराउदै गरेको वेला बहिनीले बाहिर राखेको ओखर एकै पटकमा फुटाइन् । केहिबेरपछि भाइले पनि जुना र मुनालाइ पालैपालो सप्तरङी टीका लगाइ दिएर फूलको साथमा दक्षिणा र उपहार पनि दियो ।
टीका ग्रहणपछि सबैजना वरपर बसेर सेलरोटी लगायत फलफूल, मिठाइँहरु खाए । त्यसपछि दिदिबहिनी र गाउँ घरका अरु पनि साथीहरू सग मिलेर देउसी खेल्न गए । त्यसै बेला उसले सबैलाई एक्लो भाइ हुनुपरेको कारण समेत बतायो । उसले दिदीलाई अब फेरी बिदेश नजान आग्रह गर्यो । बरु गाउमै दिदीभाइ मिलेर भाइ सन्देशको सम्झनामा एउटा अक्षय कोष स्थापना गर्ने र सामाजिक सस्था “सन्देश स्मृति प्रतिष्ठान “ खोलेर त्यसैमा काम गर्ने कुरा गर्यो । त्यहाँ उपरान्त अर्पण पनि त्यही घरमा बस्यो ।