‘प्योङयाङसामु दृढ रुपमा प्रस्तुत हुनेछु’

670
views

जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियासामु ’दृढ रुपमा’ प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरेका छन्।मतदानपछिको मत सर्वेक्षणहरु (एक्जिट पोल) ले निर्धा्रित समयअगावै गराइएको आमचुनावमा आबेले स्पष्ट जित हासिल गरेको देखाएपछि उनको पछिल्लो भनाई सार्वजनिक भएको हो।
मुलुकले कैयौँ ’संकट’को सामना गरिरहेको बेला थप जनादेश लिनका लागि आफूले निर्धा्रित समयअगावै आमचुनाव गराएको प्रधानमन्त्रीले बताएका छन्। तीमध्ये उत्तर कोरियाबाट बढ्दो खतरा एक हो ।

प्रारम्भिक मत सर्वेक्षणहरुले प्रधानमन्त्री आबेले दुई तिहाई मत सुरक्षित गरेको देखाएका छन्।योसँगै उनी विश्वयुद्धयताकै सबैभन्दा लामो कार्यकाल सत्तामा रहने जापानी प्रधानमन्त्री बन्नेछन्।
आबेले आफ्नो चौथो कार्यकाल जापानी संविधानको धारा ९ लाई खारेज गर्ने प्रयासमा बिताउने बताएका छन्।उक्त धाराले जापानलाई शान्तिप्रेमी राष्ट्रका रुपमा परिभाषित गर्दै आत्मरक्षा बाहेकको अवस्थामा युद्धमा जानबाट रोकेको छ।तत्कालत्यसका लागि आफूले सक्दो धेरै मानिसको समर्थन जुटाउने प्रयत्न गर्ने उनले बताएका छन्।
आफ्नो लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले ३१२ सीट ल्याएको एक्जिट पोलले देखाएपछि आबेले भने, “मैले चुनावकै बेला वाचा गरेको थिएँ कि अब मैले गर्नुपर्ने काम भनेको उत्तर कोरियासामु दृढ रुपमा प्रस्तुत हुनु हो, त्यसका लागि सशक्त कूटनीति आवश्यक हुन्छ।
उत्तर कोरियाले हालसालै जापानको हकाइदो टापुको आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् र अमेरिकासहितका मुलुकको प्रतिबन्धका बावजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिंदै आएको छ।
बीबीसीबाट