सत्ता राजनीतिको ‘मुसाप्रवृत्ति’

467
views

– बद्रिनरसिंह केसी

नेपालमा अहिले गठबन्धन तथा प्रतिगठबन्धनको चुनावी राजनीति र निर्वाचन क्षेत्रको भागबण्डा चलिरहेको छ । यी गठबन्धनहरूको स्वाभाविक जन्म भएको हो कि लोकतन्त्रमा डर र प्रतिडरको प्रतिबिम्ब देखापरेको हो ? दलहरूको संकल्प कि राष्ट्रको विकल्प हो ? गठबन्धन राजनीतिक स्थिरताको द्योतक हो कि अविश्वास र सतर्कताको परिणति हो ? यी प्रश्नको उत्तर व्यवहारबाट पाउन पर्खिनुपर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी घटक मिलेर लोकतन्त्रलाई गतिशील र प्रणालीबद्ध बनाउनभन्दा ‘कम्युनिस्ट एकता र समाजवाद प्राप्तिका लागि’ ६ बुँदे घोषणाका साथ गठबन्धन भएपछि जवाफी क्रियाका रूपमा ‘लोकतान्त्रिक गठबन्धन’ को जन्म भयो ।
विभिन्न सिद्धान्त, एजेण्डा र फरक लक्ष्य बोकेर हिँडेका पार्टीबीच गठबन्धन हुन्छ भने त्यहाँ ‘सहमति’ का नाममा ठाडो तमसुकले मात्र पुग्दैन, जनउत्तरदायी न्यूनतम साझा कार्यक्रम पनि आउनुपर्ने हो । त्यसका अतिरिक्त गठबन्धनका घटकहरूको चरित्र कस्तो छ, त्यसैबाट गठबन्धनको औचित्य निर्धारण हुन्छ । सिद्धान्तहिनता र अवसरवाद गठबन्धनको आधार हुनपुग्यो भने त्यस्तो गठबन्धनले जनस्तरमा विद्युतीय झट्का दिन्छ । इतिहास हेरौँ, नेपाली कांग्रेस २०१४ पछि पहिलोपटक यस्तो गठबन्धन गरिरहेको छ । तर निर्वाचन क्षेत्रको भागबण्डाका साथ काँग्रेसले चुनावी गठबन्धन गरेको यो नै पहिलोपटक हो ।

‘लोकतान्त्रिक गठबन्धन’ मा राप्रपा पनि सम्मिलित भएपछि यस गठबन्धनको बारेमा फेरि सोच्नुपर्ने भएको छ । २०७० को संविधानसभा निर्वाचनमा जनताले ठूलो आसाका साथ त्यस पार्टीलाई समानुपातिक निर्वाचनको बाटोबाट संविधानसभाको चौथो ठूलो दलीय हैसियत दिएका हुन् । तर विगतमा त्यस पार्टीले आफ्ना एजेण्डा र संकल्पलाई सत्ता लिप्साका क्रममा जरैसम्म भजाएर खाएको, आफ्नै पार्टीलाई मिलाएर चलाउन नसकेर फुट्न पुगेको, प्राप्त जनादेशको मूल्यमा सत्ता प्राप्तिका लागि जोसँग पनि मिल्न पुगेको घटिया आचरण देखाएपछि हालैको स्थानीय निर्वाचनमा जनताबाट राप्रपा बढारिनु परेको यथार्थलाई ‘लोकतान्त्रिक गठबन्धन’ का आयोजक तथा सूत्रधारहरूले गम्भीरतापूर्वक ध्यान दिन सक्नुपथ्र्यो । एउटा कुहिएको माछाले सिङ्गो पोखरीलाई विषाक्त बनाइदिन्छ भन्ने नागरिक चेतनालाई गठबन्धनका हर्ताकर्ताहरूले हेक्का राखेको पाइएन ।

राप्रपाभित्रै कमल थापा व्यक्ति नभएर चरित्रको रूपमा जानिन्छ । कमल थापा राजनीति जानेका तर लोकतान्त्रिक राजनीतिक संस्कारको अनिकालबाट ग्रस्त व्यक्ति हुन् भन्ने यथार्थ उनले विगतमा गर्दै आएका गतिविधिबाटै पुष्टि हुन्छ । राप्रपाका शालिन नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा बसेर त्यही सरकार भत्काउन उनले गरेका कृतघ्नतापूर्ण हर्कतको प्रसंगमा प्रधानमन्त्री चन्दले संसदमा भनेका थिए, ’राजनीतिमा मुसा प्रवृत्ति खतरनाक चरित्र हो । आपूm बसेकै जहाजलाई कोतरेर वा चिथोरेर प्वाल पारी जहाज डुब्ने भएपछि अर्को जहाजमा हाम फाल्नु मुसाप्रवृत्ति हो । यस्तो प्रवृत्ति सत्तामा निकै पल्किएको हालै हामी सबैले नजिकबाट देखिसकेका छौँ ।” आपूm बसेकै जहाज डुबाएर अर्को जहाजमा हाम्फाल्दै हिँड्ने काम उनले विगतमा धेरैपटक गरे । गत स्थानीय निर्वाचनमा नेकपा (एमाले) सँग ‘राष्ट्रवादी गठबन्धन’ गरेर भागबण्डाका सिटमा चुनाव लडेको राप्रपा यतिबेला लोकतान्त्रिक गठबन्धनको एउटा घटक हुन पुगेको छ । गठबन्धनका घटकहरू सत्तामै बस्नुपर्ने, सत्ता नपाए गठबन्धनमा सामेल नहुने चरित्रमा राप्रपा अग्रणी देखिएकोले त्यो पार्टीको धारणा छर्लङ्ग हुन्छ ।
राजतन्त्रकालमा कमल थापालाई राजदरबारले पूmटबलका मैदानबाट उठाएर लाभको राजनीतिमा सरिक गरायो । नेतृत्वसम्बन्धी प्रशिक्षण दिन बेलायत पठायो । अनेकौँ आकर्षक पदमा विराजमान गरायो । तर आखिरमा उनलाई जसले बनायो उसैलाई धोका दिए । च्याँखे र लाभको राजनीति गर्ने, राजनीतिक अस्थिरता मच्चाउँदै र धोका दिँदै हिँड्ने नसानसामा गढेको बानी लोकतान्त्रिक गठबन्धनमा सामेल हुँदैमा रातारात पखालिन्छ भन्ने अपेक्षा गर्नु राजनीतिक मुर्खता हुन्छ । राजनीतिमा यस्ता गलत पात्रलाई प्रश्रय दिनु नै लोकतान्त्रिक गठबन्धनको लज्जास्पद विडम्बना हो । अब कांग्रेसका निष्ठावान कार्यकर्ताले पाउने उम्मेद्वारीको टिकट खोसेर कमल थापा प्रवृत्तिलाई कदर गर्न संसदीय निर्वाचन क्षेत्र खाली गरि दिएर मात्र पुग्दैन । विजयको लागि उनको डोला बोक्न कांग्रेसका कार्यकर्ताहरू तयार होलान् ? समयले नै बताउला ।

नेपाली कांग्रेस २०१४ पछि पहिलोपटक यस्तो गठबन्धन गरिरहेको छ । तर निर्वाचन क्षेत्रको भागबण्डाका साथ काँग्रेसले चुनावी गठबन्धन गरेको यो नै पहिलोपटक हो

जसलाई जोसँग मन लाग्यो, लहडको भरमा गठबन्धन गरिहाल्नु राजनीतिक नैतिकता र जिम्मेवारी होइन, न त परिपक्वता नै हो । वामपन्थी गठबन्धनभित्रै बाबुरामको नयाँ शक्ति पार्टीको औचित्यमा प्रश्न र निर्वाचन क्षेत्रको भागबण्डामाथि विवाद उठेपछि उनले सो गठबन्धन नै छोड्नुपर्ने बाध्यता उत्पन्न भएको उदाहरण जगजाहेर छ । लौ, गन्तव्यको अन्यौल बोकेर चौबाटोमा अलपत्र अवस्थामा रहेको राप्रपालाई गठबन्धनका आयोजकले सोहोरेर स्याहारेर पाखुरो समातेर गठबन्धनमा सामेलीको उपकार गरे रे ! अब गठबन्धन बलियो र लोकतन्त्र सुदृढ बनाउन राप्रपाको भूमिका के हुने त ? ‘घोषित मितिमै निर्वाचन सम्पन्न गराउन’ सत्तापाएको राप्रपाले सत्ता र गठबन्धनमा बसेर गर्ने विलक्षण व्यवहार के हो ? राप्रपा लोकतान्त्रिक गठबन्धनको ढाल बन्ने कि राप्रपाका लागि कांग्रेसले पो ढाल बनिदिनु पर्ने हो ? लोकतन्त्र, गठबन्धनले मात्र सार्थक हुँदैन, कानुनको शासन, संस्थागत गतिविधि, सशक्त प्रणाली र सञ्चालकहरूको सफा नियतबाट सुदृढ र सफल हुन्छ । यी पूर्व शर्तलाई बेवास्ता गरेर अपनाइएको गठबन्धन व्यर्थ मात्र हुँदैन, प्रत्युत्पादक समेत हुनसक्छ ।
२०३६ तिर नेपाली कांग्रेसलाई वीपीले नेतृत्व दिएको जमानामै कांग्रेसभित्र एउटा अवधारणा सुनिन्थ्यो, “हेलमेल सबैसँग राख गठबन्धन कसैसँग नगर” । २०४६ मा जनआन्दोलनका लागि एकातिर नेपाली कांग्रेस र अर्कातिर संयुक्त वाममोर्चा रहेर संयुक्त जनआन्दोलन गरेका हुन् । त्यो बेला पनि कांग्रेसले कसैसँग गठबन्धन गरेको थिएन ।

भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको ‘नेशनल डेमोक्रेटिक एलायन्स’ क्रियाशील छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘डेमोक्रेटिक एलायन्स’ लाई ‘डेभलप्मेन्ट एलायन्स’ का रूपमा विकसित गर्नुपर्नेमा जोड दिन थालेका छन् । भारतीय कांग्रेस नेतृत्वको ‘युनाइटेड प्रोग्रेसिभ एलायन्स’ २ सय बुँदाको न्यूनतम साझा कार्यक्रमका साथ गठन भएपनि भारतीय कांग्रेस नै राजनीतिक धक्का भोगेर प्रतिरक्षात्मक अवस्थामा पुगेपछि उसको गठबन्धन पनि अन्यौलग्रस्त भएको छ ।

नेपालमा राजनीतिक गठबन्धनले यो प्रमाणित गर्दैन कि सत्ताको साँचो उनीहरूकै हातमा छ । प्रधानमन्त्रीको कुर्सीमा बसेका दिनहरूमा ‘चाबीअन्तै रहेछ’ भन्ने तत्व ज्ञान पाएका बाबुरामको ‘नयाँ शक्ति’ले ‘चाबी’ फर्काएर ल्याउने संकल्प गरेन । सरकारमा अनेक अनुहार आउँछन जान्छन्, तर आउने र जाने प्रक्रिया स्वचालित हो कि सञ्चालित हो भन्ने प्रश्नमा जनस्तरमा अनेकौँ चर्चा सुनिन्छ । कुनै पनि मुलुक युद्धकालमा सेनाको हातमा र शान्तिकालमा व्यापारीको हातमा हुन्छ भनिन्छ । तर शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आन्दोलन चलाउँदै आएका डा. गोेविन्द केसी ‘यो मुलुक माफियाको हातमा छ’ भन्दै आएको परिप्रेक्षमा कुनै गठबन्धनले दण्डहीनता, भ्रष्टाचार, दुराचार र सत्तामा माफियातन्त्र हावी भएको अवस्थालाई काबुमा ल्याउने इच्छाशक्ति र संकल्प प्रकट गरेका छैनन्, बरु राप्रपाजस्ता पार्टीलाई लोकतान्त्रिक गठबन्धनको बाटो हुँदै सत्तामा पु¥याउने काममा सहजकर्ता र निर्णयकर्ता बनेका छन् ।

महात्मा गान्धीका नाती तथा भारतीय लेखक, कुटनीतिज्ञ, बंगाल राज्यका पूर्व गभर्नर गोपाल कृष्ण गान्धीले ०६९ पुसको सुरुमै नेपाल आएका बेला एउटा प्रवचनमा भनेका थिए, ‘हामी नेतृत्व कम नेतागिरि ज्यादा गरिरहेका छौँ ।’ यो भनाइ नेपालमा हुबहु चरितार्थ भइरहेको छ । उद्देश्यविहीन गठबन्धनयुक्त सत्ता–राजनीति कुशल नेतृत्वको द्योतक होइन, नेतागिरिको अराजक व्यवहार हो । गठबन्धन आपैmंमा वर्जित कुरा होइन । सिद्धान्तविहीन गठबन्धन लोकतन्त्रको उपलब्धी पनि होइन ।  साभार: राजधानी राष्ट्रिय दैनिक