प्रत्यक्षतर्फ संघ तथा प्रदेशको छुट्टा छुट्टै मतपत्र छापिने तयारी

843
views

काठमाडौँ १३ कात्तिक । निर्वाचन आयोगले प्रत्यक्षतर्फको संघ र प्रदेशको छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । सर्वोच्चको आदेशलाई पालना गर्ने भन्दै आयोगले प्रत्यक्ष तर्फको छुट्टा छुट्टै मतपत्र छाप्ने तयारी गरेको हो ।
आइतबार सम्पन्न आयोगका पदाधिकारी सम्मलित बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छाप्ने बिषयमा छलफल भएको हो ।आयोगले भोलि अदालतको आदेश आएपछि यसबारे निर्णय गर्ने बुझिएको छ ।
सर्वोच्च अदालतले ३ दिनभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाई बारेमा भएको प्रगतिबारे ३ दिनभित्र जवाफ दिन आयोगलाई निर्देशन दिएको थियो ।
सर्वोच्चलाई आयोगले भोलि सोमबार जवाफ दिने भएको छ । शनिवार अदालतको निर्णयको पत्र पाएको अदालतले अदालतलाई बुझाउने जवाफ आज तयार पारेको हो ।
राजपा नेता सर्वेन्दनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र एउटै कागजमा दुई मतपत्र छाप्ने निर्णय भएको भन्दै अलग रुपमा छाप्न माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमाथि गत असोज १९ गते सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेपछि आयोगले एउटै कागजमा दुई मतपत्र छाप्ने निर्णय गरेको थियो ।
सो आदेशमा समानुपातिकतर्फ मतपत्र छापिसकेकाले अदालतले अलगअलग मतपत्र छाप्नुपर्ने व्यवस्था भएको र यही कात्तिक १० गतेबाट मतपत्र छापिने भएकाले संवैधानिक र कानूनी प्रावधान गम्भीरतापूर्वक लिने भएकाले अन्तरिम आदेश दिनुपरेन भन्ने उल्लेख थियो ।
फेरि गत मंगलबार नेता शुक्लाले आयोगले अदालतको अवहेलना गरेको भन्दै दायर गरेको मुद्धामा न्यायधिश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार ३ दिनभित्र प्रदेश र प्रतिनिधिसभाको छुट्टाछुट्टै मतपत्र छपाईको प्रक्रिया कहाँ पुग्यो भन्नेबारेको बिबरण पेश गर्न आयोगलाई आदेश दिएको थियो ।