खेलभावना विपरीत कार्य गरेकाले इभ्रामाथि प्रतिबन्ध

1002
views

कार्तिक, १८ । मार्सेल– युरोपेली फुटबल संघ युइएफएको अनुसन्धान कमिटीले शुक्रबार मार्सेलका भेट्रान रक्षक प्याट्रिक इभ्रामाथि एक खेलको प्रतिबन्ध लगाउँदै तत्काल उनीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
इभ्रा बिहीबार युरोपा लिगअन्तर्गत समूह ‘आई’ को भिक्टोरिया डी ग्युमारेजसँगको खेलअघि आफ्नै क्लबका एक समथर्मकमाथि ‘लात्ती’ हानेपछि रातो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएका थिए ।
युइएफएले इभ्राले खेल भावनाविपरीत कार्य गरेकाले उनीमाथि अनुशासनको कारबाहीका लागि छानबिन सुरु गरिएको बताएको छ ।
‘खेलमा रातो कार्डको दर्शन गरेपछि खेलाडीले स्वतः अर्को एक खेल गुमाउँछ । अनुशासन कमिटीको नोभेम्बर १० मा बस्ने अर्को बैठकले उनीमाथिको कारबाहीका बारेमा अन्तिम निर्णय लिनेछ,’ युइएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युइएफएले समर्थकले अराजक व्यवहार गरेको भन्दै दुवै क्लबमाथि जरिवानाको सजाय पनि सुनाएको छ । तर जरिवाना रकमका बारे केही खुलाइएको छैन ।
मार्सेलले पनि इभ्रामाथि छानबिन गर्ने जनाएको छ । ‘समर्थकले जस्तो व्यवहार गरे पनि व्यावसायिक खेलाडीले आफ्नो रिसलाई नियन्त्रणमा लिनुपर्छ,’ मार्सेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।