टेक्सास चर्चमा गोली चल्दा पादरीकी छोरीसहित २६ को मृत्यू

741
views

टेक्सास, २० कार्तिक । अमेरिकाको टेक्सासमा चर्चभित्रै गोली चल्दा पादरीकी छोरीसहित २६ जनाको मृत्यू भएको छ । सो घटनामा २० जना घाइते भएका छन् । टेक्सास राज्यस्थित सदरल्याण्ड स्पिङको एउटा चर्चमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएपछि सो घटना भएको हो । उक्त घटना आइतबार बिहान साढे ११ बजेतिरको हो । प्रार्थना चलिरहेको बेला २६ वर्षीय डेभिन प्याट्रिक केली नामका बन्दुकधारी कालो नकाबमा सदरल्याण्ड स्प्रिङको बापटिष्ट चर्चभित्र छिरेको र स्वचालित राइफलबाट अन्धाधुन्ध गोली चलाएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । चर्चमा अन्धाधुन्ध गोली प्रहार गरी मोटरमा भाग्दै गरेका बन्दुकधारी केलीको पनि मृत्यु भएको छ । गोली चलाएर निस्कँदै गर्दा एकजना स्थानीय बासिन्दाले बन्दुकधारीको हातमा रहेको राइफल समाएको र सुरक्षाकर्मीहरु नआइन्जेल अल्मल्याउन कोशीश गरेको तर बन्दुकधारीले राइफल छोडेर घटनास्थलबाट भागेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् । मृतक बन्दुकधारी केलीको मृत्यु सुरक्षा कारवाहीमा भएको हो वा बन्दुकधारीले आफैमाथी गोली चलाएको स्पष्ट भैसकेको छैन । बन्दुकधारीको मोटरमा थप बन्दुकहरु फेला परेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । घटना भएको ठाउँ टेक्सास राज्यको पर्यटकीय शहर स्यान एन्टोनियोबाट करीब पचास किलोमिटर टाढाको एउटा सानो गाउँ हो ।