“माछापुच्छ्रे”

660
views

-कबिता-

नआउदै 
मेरो समिपमा
बिहानी सूर्यका किरणहरु 
नबिउझिदै 
कुना कन्दराहरुमा 
सुतेका ती बस्तीहरु 
ए माछापुछ्रे 
तं किन यसरी चम्किरहेछस् ।

नरंगीदै
लाली ओठहरुमा
सुन्दर जिबनका खुशीहरु 
नटल्किदै
खाली सिउंदोहरुमा 
रंगीन ती सिन्दुरहरु 
ए माछापुच्छ्रे 

तं किन यसरी टल्किरहेछस् ।

हिजो राती 
तेरै आगनमा 
बलात्कृत भएका छन् खुशीहरु
नचाहदै
निरन्तर गुमाइरहेछन 
बलिष्ठ सामु कुमारित्वहरु 

ए माछा पुच्छ्रे 
तं किन यसरी मूकदर्शक बनिरहेछस ।

हो सायद
तं अझै भर्जिन छस् 
र त त्यसैमा तेरो घमण्ड छ 

 

थाहा छैन तलाई 
कुमारित्व गुमाउनुको पीडा 
बेबारिसे कोख भित्रबाट
अर्को जीबन उदाउनुको पीड़ा 
ए माछा पुच्छ्रे 
त्यसैले त यसरी मुस्कुराई रहेछस ।

भन् माछापुछ्रे 
तं मात्रै एक्लै कति हास्छस् 
अब तैले दुनिया हसाउनु पर्छ 
बहानाबाजी गर्दै 
तेरो कुमारित्व चुम्न 
त सँगै ठोक्किन आउने 
ती उज्याला किरणहरुलाई 
गाउँ बस्ती सम्म पुरयाउनु पर्छ

भो अब चाहिदैन
आयातित कुनै बर्णशंकरहरु 
बरु 
भंग गरेरै भएपनि 
कुमारित्व
प्राकृतिक गर्भाधानबाटै
तेरै कोखबाट
यो देशलाई नेतृत्व गर्ने
एउटा गतिलो सन्तान जन्माउनु पर्छ ।

-भुमिराज शर्मा