भारतीय सेवामा नेपाललाई कर नलाग्ने

378
views

नवदृष्टि संवाददाता
काठमाडौं, २५ कार्तिक । भारत सरकारले नेपाललाई दिने कुनैपनि सेवामा वस्तु तथा सेवा कर (जिएसटी) नलगाउने व्यवस्था गरेको छ । सो व्यवस्थाबारे भारत सरकारले हालैमात्र औपचारिक जानकारी गराएको वाणिज्य सचिव चन्द्र कुमार घिमीरेले बताए ।

यससँगै अब नेपालले सरकारी तथा निजी तहबाट लिने कुनैपनि परामर्श, इन्स्युरेन्स, ढुवानी, सफ्टवेयर, गोदाम, सिपिङलगायत सेवामा जिएसटी तिर्नु पर्दैन । ‘ भारत सरकारले हालै मात्र नेपाललाई यसबारे औपचारिक जानकारी गराएको छ, उनले भने, ‘यसअघि सेवामा लिइसकेको जिएसटीसमेत फिर्ता गर्ने उनीहरुले बताएका छन् ।’

यसअघि भारतले ट्रान्जिट कार्गोमा लगाउँदै आएको सेवा कर हटाएको थियो । केन्द्र सरकारले वस्तु तथा सेवाकर (जिएसटी) सम्बन्धी व्यवस्था संशोधन गर्दै नेपाल र भुटानले भारत हुँदै तेश्रो मुलुकमा गर्ने आयात–निर्यातमा सेवा कर हटाएको थियो ।

भारत सरकारले सेवामा लाग्ने जिएसटी हटाएपछि नेपालको अर्बौ रकम जोगिने पनि वाणिज्य सचिव घिमीरेले बताए । ‘ हामीले भारतबाट अर्बौ मूल्य तिरेर विभिन्न सेवा लिँदै आएका छौं, उनले भने, ‘त्यस सेवामा लाग्ने ५ देखि २८ प्रतिशत कर छुट भएपछि नेपालको अर्बौ रुपैयाँ जोगिनेछ ।’ नेपालले व्यापारको साथै उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत थुप्रै क्षेत्रमा भारतबाट विभिन्न खाले सेवा खरिद गरेको छ । आजको नयाँपत्रिका दैनिकबाट