बालयौन दुराचारी विदेशी नागरिक पक्राउ

691
views

काठमाडौं । बालयौन दुराचारको उद्देश्य पूरा गर्न नेपाल आएका एक डच पर्यटक पक्राउ परेका छन् । कोटेश्वरको एक होटलबाट ७५ वर्षीय डच नागरिक हेन्रिकस अड्रिनुस जोसेफुस क्रुइजिसेन पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो । प्रहरीले होटलको कोठाबाट एक बालकलाई समेत उद्धार गरेको छ । कमजोर आर्थिक अवस्था भएका ती बालकलाई आर्थिक प्रभावमा पारी उनले अप्राकृतिक यौन गतिविधि गरेको प्रहरीले जनाएको छ ।
बालकहरूसँग यौन क्रीडामा रमाउन नेपालमा पर्यटक आउने प्रहरी अधिकारी बताउँछन् । पछिल्लो पाँच महिनामा तीनजना विदेशी पक्राउ परिसकेका छन् ।
२२ भदौमा अस्ट्रियन नागरिक केन्डलर मार्कुसलाई सिआइबीले पक्राउ गरेको थियो । समाजसेवी बनेर उनले धादिङको गोगनपानीमा बालकलाई यौन शोषण गरेका थिए । त्यस्तै, १५ असारमा प्रहरीले जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिचेलाई पक्राउ गरेको थियो । उनको कोठाबाट एक बालकलाई समेत उद्धार गरेको थियो । नेपालमा बारम्बार विदेशीहरू बालयौन दुराचारको अपराधमा पक्राउ पर्दै आएका छन् ।
दुई वर्षअघि विश्वकै कुख्यात बालयौन दुराचारी फेनविक म्याकन्तोस ललितपुरमा पक्राउ परेका थिए । सेन्ट जेभियर्स वेलफेयर सेन्टरका एक बालकलाई होटेलमा लगेर यौन शोषण गरेका थिए । आजको नयाँपत्रिकाबाट