ओमान सरकारको नजरमा एनआरएनए ओमान

1782
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, ६, बैशाख । गैरआवासीय नेपाली संघ ओमान ओमान सरकारमा एनआरएनए सोसियल क्लबका नाममा आधिकारीक रुपमा दर्ता भएको छ । नेपाली दूतावास ओमानको सहयोग र एनआरएनए ओमानको संयुक्त प्रयासमा लामो समयपछि ओमान सरकारमा आधिकारीक रुपमा दर्ता हुन सफल भएको हो । खाडीका सबै देशमा एनआरएनए गठन भए पनि सम्बन्धीत देशको सरकारले स्विकृति दिएको संस्था एनआरएनए ओमान पहिलो रहेको बताइएको छ ।
‘नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ’ सन् २००९ मा ओमानमा स्थापना भएको एनआरएनए ओमानले ओमानमा रहेका नेपालीका समस्याहरुमा साथ दिदैँ आएको छ । साथै यसले विभिन्न समयमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसासमा लाग्ने काम गर्दै ओमानी नागरिकहरुबीच नेपाल चिनाउने काम पनि गर्दै आएको छ ।
ओमानमा एनआरएनए गठन हुनुभन्दा पहिले नेपालीहरुको समस्या समाधान हुँदै नभएको होइन्, त्यतिबेला पनि नेपाली समाज लगायत अन्य संघ संस्थाहरुले आ–आफ्नो बलबुताले भ्याएसम्म सहयोग गरेका थिए । तर, एनआरएनए गठनपछि अझ सहज भएको एनआरएनए ओमानका पूर्व अध्यक्ष तथा हालका गल्फ संयोजक डिबी क्षेत्रीको भनाइ छ । ‘अब ओमान सरकारको आधिकारीक निकायमा संस्था दर्ता भइसकेको छ, ओमानमा रहेका नेपालीका समस्यालाई कानुनी रुपमा अगाडि बढाउन सजिलो हुने भएको छ ।’ क्षेत्रीले लाई सुनाए ।
क्लब दर्ताका क्रममा सकारात्मक भुमिका खेल्नुहुने ओमानबासी सबै नेपालीलाई धन्यवाद दिदैँ आगामी दिनहरुमा एनआरएनए क्लब अझ सक्रिय भएर नेपाल र नेपालीको सेवामा लाग्ने संघका अध्यक्ष दिपक श्रेष्ठले बताए ।
खाडी राष्ट्रमा रहेका प्रवासी कामदारहरुले खोलेको सामाजिक संघसंस्था बैद्यानिक रुपमा दर्ता नभएको र कानुनीरुपमा विभिन्न काममा खुलेर लाग्न नसकिरहेका बेला ओमानमा एनआरएनए दर्ता हुनु सबै नेपालीका लागि खुसीको कुरा हो । तर, त्यहाँको कानुनलाई आत्मसात गर्दै अगाडि बढ्नु एनआरएनए ओमानको दायित्व पनि हो ।