साम्यवाद, राष्ट्रवाद र अवसरवाद

871
views

– बद्रिनरसिंह के.सी.

यति बेला ‘बाम गठबन्धन’ भनिने दुई कम्युनिस्ट पार्टीहरू आफ्नो सिद्धान्त र मान्यताअनुरुप ‘सर्वहारा अन्तर्राष्ट्रवाद’ वा ‘कम्युनिस्ट अन्तर्रा्ष्ट्रिय भाईचारा’ को नारा होइन, पञ्चायती शासनको ओथारोमा हुर्केको ‘राष्ट्रवाद’ को नारा लगाइरहेका छन् । तर माक्र्स्वाद–लेनिनवाद र माओवादको घोलबाट नयाँ कम्युनिस्ट पार्टीको रुप लिन लागेको उक्त गठबन्धन, विगतमा आफ्नै लक्ष्य, पक्ष र नाराका अगाडि पराजित भएपछि पञ्चायतले रचना गरेको र राजा महेन्द्रले संगीत भरेको राष्ट्रवादको गीत गाउन थालेका हुन् । कम्युनिस्टहरूले राष्ट्रवादको नारा लगाएको सुन्दा यस्तो लाग्छ, जामे मस्जिदका मौलानाहरू पशुपतिनाथको पूजा र ‘शिव ताण्डबस्तोत्र’ पाठ गर्दैछन् । ‘स्युडो नेशनलिज्म्’ (नक्कली राष्ट्रवाद) यही हो ।

१÷२ वर्षअघि आफ्ना एक विश्वासपात्र नेता लगाएर संविधानसभाका पचासजना सभासदलाई एकएक करोड रूपैयाँका दरले किन्न चीनसँग पचास करोड रूपैयाँ माग्ने प्रचण्ड यतिबेला राष्ट्रवाद नीलवर्ण श्यालको झाँकीमा छन् । महाकाली सन्धी गरेको बेला एमालेभित्रैबाट वामदेव पक्षबाट “राष्ट्रघाती सन्धी गर्ने नेपाली लेण्डुप दोर्जे केपी ओली र उनको मतियार गुट” भनी एमालेकै संसदीय दलको कार्यालय परिसरमा लागेका मुर्दावादका नारा सुनिजान्नेले बिर्सिहालेका छैनन् । त्यसै वर्ष यही आरोप–प्रत्यारोपको अचानोमा एमाले माथिदेखि तलसम्म दुईफ्याक भएर फुटेपछि टँुडिखेलको विशाल आमसभामा एमालेले नेपालका ३ सय महाभ्रष्टको सूची घोषणा गर्दै पहिलो नम्बरमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई औँल्याएर घोषणा गरेको पनि बिर्सने कुरा भएन । यिनै ‘नेपाली लेण्डुप दोर्जे’ र ‘नेपालको पहिलो नम्बरको महाभ्रष्ट’ ले गत दशैँ विदाको मौका छोपेर आफ्नै पार्टीका धेरैजसो नेताहरूलाई पनि पछि मात्र थाहा दिई खडा गरेको गठबन्धन ‘राष्ट्रवाद’ को रागमा मग्न भएझैँ छ ।

वास्तबमा सच्चा कम्युनिस्ट राष्ट्रवादी हुँदैन, ऊ सर्वहारा अन्तराष्ट्रवादको पक्षधर हुन्छ । बाम गठबन्धन पार्टीसँग झुण्ड्याइएको पुच्छरे–नाम, माक्र्स्वाद–लेनिनवाद र माओवादप्रति साँच्चै नै निष्ठावान भएको हो भने निजी सम्पत्ती र स्वामित्वको मात्र होइन परिवार प्रथाको पनि विरोधी हुनुपर्छ । नेपाली काँग्रेसका सभापतिहरूमध्ये सुवर्ण शम्शेरले पैत्रिक सम्पत्तिबाट पाएको राजधानीको महल (ललिता निवास) र सभापति शेरबहादुर देउबाले बाहेक बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला कुनै सभापतिले पनि राजधानीमा एउटा घर पनि नजोडी जानुभयो । तर जगजाहेर छ, एमाले र माओवादी नेताहरूका राजधानीमा आलिसान हवेली, उद्योग, ब्यापार, स्कूल, कलेज, अस्पतालहरूमा करोडौँको शेयर छन्, उनीहरू महँगा र विलाशी गाडीमा सवार हुने गर्छन् । बिमारी हुँदा बैंकक र सिंगापुरका पाँचतारे अस्पतालमा सहजै उपचार गराउँछन् । निर्लज्जता बाम गठबन्धनको साझा चरित्र भएको छ ।

माक्र्स्वादबाट भ्रमभङ्ग भएका पूर्व वामपन्थी, चर्चित समाजशास्त्री चैतन्य मिश्र लेख्छन्, “…..अहिले सम्झँदा लाग्छ, जीवनको एउटा कालखण्डमा अत्यन्तै सोभियताइज्ड् र माओवाइज्ड माक्र्सवाद पढिएछ । लेनिन र माओका आँखाबाट पढिएछ । तर माक्र्स्कै आँखाबाट कम पढिएछ ।……त्यसपछि सोभियत कम्युनिस्ट पार्टीका, चीनको कम्युनिस्ट पार्टीका अनि यहाँका कम्युनिस्ट पार्टीका साहित्य पढियो । त्यो अध्ययन यस्तो विकृत ढाँचामा गरिएछ, नभएको माक्र्स्वाद पढिएछ । दुई नम्बरी माक्र्सवाद पढिएछ । एउटा खेद यो लाग्छ” (कान्तिपुर, ०७४-४-१४) ।

जिन्दगीभरि माक्र्स्वाद पढेको परिचय बनाएका माक्र्स्वादी विद्वानकै आज यस्तो भ्रम र धोकाबोधको मनोदशा र निष्कर्ष छ भने वाम गठबन्धनका नेताहरू कति नै सच्चा कम्युनिस्ट होलान् ? समाजवाद ल्याउने भन्दै बाम गठबन्धन मयुर नाच देखाइरहेको छ । यिनका पछाडि लाग्ने कार्यकर्ता र मतदाताहरू फेरि थाङ्नामा सुताइने भए । ‘नौलो जनवाद ल्याउने’ नाममा दश वर्षसम्म हत्या, हिंसा, विध्वंस र लूट मच्चाएको माओवादी १८ हजार नेपालीको ज्यान लिएपछि आज अनैतिक साँठगाँठका निर्लज्ज खेल चलाइरहेको छ । कागले आफ्नै नाम काढेको शैलीमा एमाले अध्यक्ष के.पी. ओली “यो चुनाब लुटतन्त्र र समाजवादका बीच हुँदैछ” भन्दैछन् ।

वास्तबमा बाम गठबन्धन कुनै प्रतिबद्धताका लागि भएको होइन, सत्ताका लागि तात्कालिक स्वार्थ पूर्तिको अवसरवादी र धोकापूर्ण हत्कण्डा हो । यो वास्तविकता सारा सचेत जनतालाई थाहा छ । यो कम्युनिस्ट शासन वा कम्युनिस्ट संगठन विस्तारको युग पनि होइन, प्रजातन्त्रको युग हो । अनेक तिकडम रचेर र चुनाबी घोषणापत्रमा असम्भव र हास्यास्पद कार्यक्रम राखेर न समाजवाद आउँछ, न साम्यवादमा पुगिन्छ । बाम गठबन्धन अवसरवादी चरित्र र सत्ताको भोकको झाँकी हो ।

यतिबेला राष्ट्रवाद बाम गठबन्धनको भोट माग्ने भाँडो भएको छ । माग्नेलाई कसैले पनि भाँडो हेरेर भिक्षा दिँदैन, मान्छे हेरेर मात्र कति भिक्षा दिने भन्ने निश्चय गर्दछ । गठबन्धनले एमाले र माओवादीको लोकतन्त्रउपरको निष्ठा जाँचेको छ ।

बाम गठबन्धनसँगै अनेकौँ तिलश्मी घटनाक्रम सतहमा प्रकट भइरहेका छन् । एमालेको चुम्बकीय आकर्षणमा माओवादीसँग पार्टी एकीकरण गर्न लागेको भनिन्छ, तर एमालेको माओवादीकरण भएको अर्थले शहर–बजार पिटेको छ । एमालेलाई लोकतान्त्रिक विकल्प शक्तिका रुपमा हेर्ने गरिन्थ्यो, तर यो गठबन्धनले उसलाई लोकतन्त्रकै विकल्पको मतियार बनाएको छ । माओवादी नाफामा छ, एमाले घाटामा छ । यो गठबन्धन निर्वाचनसम्म कायम रहने छ, त्यसपछि न गठबन्धन न त राष्ट्रवादको नारा । छद्म भेष खोज्नेहरूलाई राष्ट्रवादी हुन कुनै गाह«ो छैन, तर त्यसैमा टिक्नु निकै गाह्रो आचरण हो । अवसर अनुसार मुखुण्डो भिर्ने आदत भएका कम्युनिस्टहरू राष्ट्रवादको मुखुण्डो लगाइरहेका छन् । तर जतिसुकै राम्रा मुखुण्डो होस् त्यो सँधै मान्छेका अनुहारमा टिक्न सक्दैन, बेनकाव हुन्छ–हुन्छ ।