भारतीय ट्रकले बसलाई ठक्कर दिँदा पाँचको मृत्यु

320
views

नवदृष्टि संवाददाता
चैत्र, १९, नवलपरासी । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका स्थित ४० किलो जंगलमा शुक्रबार राती भारतीय ट्रकसँग यात्रुबहाक बस ठोकिदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाँच जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राती एक बजे दाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ४९९५ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्युहुनेमा दाङ्ग सिरीगाउँका बलिराम चौधरी, सोही ठाउँका विरबल चौधरी, सुर्खेत जुमखोलाका हरि रामजाली मगर रहेका छन् । उनीहरु सबै बसमा सवार थिए । त्यसैगरी ट्रकमा सवार भारत उत्तरप्रदेश बराहीच जिल्ला दरगा गाउँ बस्ने ३० वर्षिय बिएच खानको मृत्यु भएको छ ।
बसमा सवार अन्य एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाईतेहरुको बुटवलमा उपचार भईरहेको छ ।