सुरक्षामा चुनौति, निर्वाचन केन्द्रित हिंसात्मक घटनामा वृद्धि

299
views

काठमाण्डौ, २ मंसिर । निर्वाचन सुरक्षा योजना बनाउने क्रममा गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूको आंकलन थियो, ‘स्थानीय तहको निर्वाचनमा जस्तै तर्साउन सामान्य किमिसका आक्रमण हुन सक्छन्, त्यसले ठूलो चुनौती हुँदैन ।’

केही दिनअघि रुकुम र रोल्पामा माओवादी केन्द्रका नेतामाथि पटक–पटक आक्रमण हुँदासमेत गृहका अधिकारीहरू त्यसलाई ‘अनुमान गरिएका घटना’ भनिरहेका थिए । तर, दुई–तीन दिनयता लगातार एमाले र कांग्रेसका उम्मेदवारमाथि पनि आक्रमण बढ्न थाल्यो, त्यसले उनीहरूलाई झस्काइ दिएको छ । गृह मन्त्रालयको निर्वाचन सुरक्षा योजना असफल जस्तै भएको छ । निर्वाचन आयोगले शुक्रबार सुरक्षा अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्ति नै निकालेको छ ।
शृंखलाबद्ध बम आक्रमणले विभिन्न दलका उम्मेदवार प्रचारप्रसारमा हिँड्नसमेत डराउन थालेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत समूहले दुई दर्जनभन्दा धेरै ठाउँमा आक्रमण गरिसकेका छा् । शुक्रबार कांग्रेस नेता डा. रामशरण महतमाथिको आक्रमण द्वन्द्वकाल सम्झाउने खालको थियो । तर्साउन मात्र नभई ठूलै क्षतिको उद्देश्यले आक्रमण भएको आकलन गरिएको छ । शुक्रबार नै रोल्पामा माओवादी केन्द्रका नेताहरू ओनसरी घर्ती, कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडी लक्षित गरी बम आक्रमण भयो । यसअघि पश्चिम रुकुममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, रोल्पामा वर्षमान पुन, भोजपुरमा एमाले नेता शेरधन राई, संखुवासभामा एमाले उम्मेदवार राजेन्द्र गौतम, म्याग्दीमा कांग्रेस उम्मेदवार खमबहादुर गर्बुजा, गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठमाथि बम आक्रमणका घटना भइसकेका छन् । आजको नयाँपत्रिका दैनिकबाट