नेपाली सेनाका धावकलाई हङकङमा स्वर्ण पदक

1187
views

काठमाण्डौ, २ मंसिर । मित्रराष्ट्र हङकङको (Sai kung देखि Tuen mun सम्म) अक्सफेम ईन्टरनेश्नलले (Oxfam International) ले आयोजना गरेको एकसय किमी दौड प्रतियोगितामा त्रिभुवन आर्मी क्लवका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाली सेनाका जम पूर्णकुमार तामाङको नेतृत्वमा सहभागी त्रिभुवन आर्मी क्लबका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् ।

हङकङको निकै प्रख्यात मानिने उक्त ट्रेल रेस (Trail Race) प्रतियोगितामा विभिन्न देशका पाँचहजार धावकहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका ज.म. पूर्णकुमार तामाङ सहित सुवेदार समिर तामाङ, ज.म.तिर्थ तामाङ र ज.म.वेद सुनुवारले सहभागिता जनाएको सैनिक जनसम्पर्क तथा सूचना कार्यालयले जनाएको छ ।