प्रादेशिक राजधानीको खोजी

517
views

-डा. केदारनरसिंह के.सी.
देशले एकैपटक सात वटा प्रादेशिक राजधानी निर्माण गर्न लागिरहेको छ र यसका लागि उपयुक्त र पायकपर्दो शहरको खोजी भइरहेको छ । कुनै पनि मुलुकले एकैपटक यति धेरै प्रादेशिक राजधानी खडा गर्नुपरेको अवस्था बिरलै आउला । प्रादेशिक राजधानी जनताकै लागि अपायक र कष्टदायी हुनपुगे भने राज्य संरचनाको पुनीत लक्ष्य नै विकृत वा व्यर्थ हुन्छ ।

अतः देशकै राजधानी रहेको तीन नम्बर प्रदेशमा अर्को राजधानी कहाँ बनाउने भन्ने विचारणीय प्रश्न जरुरै उठ्छ । मुलुकको मध्यभागमा अवस्थित तीन नम्बर प्रदेशमा १३ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, रसुवा, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली पर्छन् । यस प्रदेशले आफ्नो राजधानी यिनै जिल्लाभित्र खोज्नुपरेको छ । आसन्न निर्वाचनद्वारा गठन हुने प्रदेशसभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतले निर्णय गरी प्रदेशको राजधानी कायम हुने संवैधानिक व्यवस्था छ । त्यसैले यो निर्वाचनमा मतदाताले प्रदेश राजधानीका लागि पनि अनुकूल र उपयुक्त पार्टीलाई मत दिनुपर्ने अघोषित आवश्यकता खडा भएको छ ।

नुवाकोटलाई प्रादेशिक राजधानी बनाउने बारेमा अभिमत व्यापक हुँदै गइरहेको छ । चिनियाँ रेलमार्ग केरुङ हुँदै रसुवागढी पसेर नुवाकोट हुँदै काठमाडौँ, पोखरालाई समेट्दै लुम्बिनी पु¥याउने दीर्घकालीन लक्ष्यका साथै मध्यपहाडी लोकमार्ग मध्यनुवाकोट भएर जाने हुँदा नुवाकोट नेपालको ठूलो केन्द्र हुने प्रायः निश्चित छ । योजना स्वीकृत भइसकेका अन्य सडक सञ्जाल, उत्तरी सीमासम्म नै यातायातको सुगमता, सुरुङ मार्ग र सडक विस्तारले पनि नुवाकोटलाई राजधानीको निकट बनाउँदै लगेको छ ।

लिच्छिवी राजा अंशुवर्माको जन्म भएको इतिहासका साथै भोटका राजा स्रोङ्चन गम्पोसँंग आफ्नी छोरी भृकुटीलाई विवाह गराई यसै जिल्लाको बाटो हुँदै ल्हासा पु¥याइएको इतिहास छ । मल्लकालदेखि पृथ्वीनारायण शाहको जीवनभरि र गीर्वाणयुद्ध विक्रम शाहको पालासम्म नुवाकोट नेपालकै शितकालीन राजधानी थियो । मल्लराजाहरू काठमाडौँको जाडो छल्न नुवाकोटमा आउथे र यहीँबाट शासन चलाउँथे । नुवाकोट दरबार परिसरमा रहेका मल्लकालीन दरबार, गारदघर, रङ्गमहल, तुलजा भवानीको मन्दिर यस वास्तविकताका साक्षी हुन् । यस्तो इतिहास यस प्रदेशका अन्य जिल्लासँग छैन ।

वि.सं. १८५० (सन् १७९३) मा ब्रिटिश दूत विलियम कर्कप्याट्रिकसहितको एक प्रतिनिधि मण्डलले नेपाल भ्रमणका क्रममा नुवाकोटको भ्रमण गरेको विवरण सन् १८११ मा प्रकाशित “एन अकाउन्ट अफ किङ्डम अफ नेपौल” भन्ने पुस्तकमा उल्लेख गरेका छन् । यसरी नुवाकोट भ्रमण गर्ने युरोपेलीमा सायद उनी नै पहिलो देखिन्छन् । त्यसमा उनले भनेका छन्, ‘नुवाकोटको शहर मन्दिरको अर्कोपट्टी भाग उत्तरतिर त्यस पहाडको चुचुरो, त्यसको ठीक तलबाट त्रिशूल गङ्गा बग्छ, महामण्डलसम्म फैलिएको छ । यो शहर त्यति ठूलो छैन तर नेपालमा केही ठूलो र राम्रामा गन्ती हुने भवन यहाँ रहेका छन् ।’ उनको भनाइले यहाँ शहर र राम्रा भवन बनाउने गरेको पुरानै इतिहास रहेको प्रस्ट पार्छ ।

काठमाडौँ उपत्यकाभित्र जनसङ्ख्याको चाप अत्यधिक भई पचास लाखको हाराहारीमा पुगेको अवस्थामा प्रदेशको राजधानी पनि यहीँ थप्नु सङ्घीयताको सिद्धान्तले समेत न्यायसङ्गत मानिन्न । जटिलता, विकृति र विसङ्गति थप्नु नहुने जिम्मेवारी नीति निर्माता र निर्णायक तहमा अनिवार्य रूपमा रहेको छ । अधिकांश जिल्लामा सडक सञ्जाल पुगिसकेको तथा नुवाकोट र काभ्रेपलान्चोक केन्द्रीय भूगोलको आधारमा राजधानी बन्नसक्ने सबैभन्दा उपयुक्त जिल्लामा पर्छन् तर काभ्रेपलान्चोक जिल्लामा नदीको उपलब्धता छैन । धुलिखेल, बनेपा, पाँचखालसँग पर्याप्त र गुणस्तरीय पानीको स्रोत छैन ।

काभ्रेका इन्द्रावती र भोटेकोसी नदी किनारका तटीय स्थल नुवाकोटमा जस्तो पाइन्न । राजधानी शहर समुद्र किनार वा नदी किनारमा हुने आमप्रचलनको दृष्टिले नुवाकोट जिल्लामा तादी र त्रिशूली नदी र ती नदीको सङ्गम देवीघाट यहीँ पर्छ । पिपलटाल, माझिटार, बट्टार, विदुर हुँदै नुवाकोट दरबारसम्मको समथर फाँट प्रदेशको राजधानी निर्माणका लागि अत्यन्त उपयुक्त हुन्छ । काठमाडौँ जिल्लाको जम्मा क्षेत्रफल ३९५ वर्ग कि.मि. मात्र हो । नुवाकोट पहाडी जिल्ला भएर पनि काठमाडौँको जति नै समथर भूगोल उपलब्ध छ । पिपलटारदेखि विदुरसम्म विशाल टार, गेर्खुटार, आगुटारजस्ता प्रशस्त टार वा फाँटमा पर्याप्त पूर्वाधार तथा बसोबास निर्माण गर्न सकिन्छ । तादी र लिखु नदीले सिञ्चित गरेको शेरा हुँदै ढिकुरे, छहरेका विशाल उब्जाउयुक्त फाँट तथा चौघडा, खरानीटार हुँदै सातबीसे, रामतीसम्म नै राजधानीका पूर्वाधार फैलाउन सकिने सम्भाव्यता छ ।

राजधानीका लागि अनिवार्य आवश्यकता मानिने ऊर्जा स्रोत हो । त्रिशूली, देवीघाट, चिलिमे, माथिल्लो त्रिशूलीलगायत हाल चालु र निकट भविष्यमा थपिने अन्य विद्युत् आयोजनाले प्रादेशिक राजधानीको ऊर्जा माग तत्कालका लागि आपूर्ति गर्न सक्षम छन् भने भविष्यमा ऊर्जा उत्पादनमा व्यापकता दिन सकिने सम्भावना त्यति नै छ । प्याकिङ गर्ने, चिज, दही आदि दुग्ध तथा मासुजन्य उत्पादन, चामल तथा आँटा उद्योग, पाउरोटी वा बेकरी, जुस, जडीबुटी प्रशोधन, कोल्डस्टोर आदि उद्योग यहाँ सञ्चालन गर्न सकिने साथै परम्परागत सीपमा आधारित राडीपाखी, फलामका औजार, धातु तथा माटाका भाँडाकुँडा, काष्ठकलाका सामग्री, मादल तथा छालाका वाद्य सामग्री, बेत र बाँसका सामग्री उत्पादन भइरहेकोले प्रादेशिक राजधानीमा रोजगारीको व्यवस्थापनका लागि यो जिल्ला उपयुक्त छ ।

कुनैपनि राजधानीको वाञ्छित योग्यता के हुन्छ भने त्यसले राष्ट्रको सभ्यता, संस्कृति र अन्य सामाजिक आकर्षण प्रस्तुत गर्न सक्नुपर्छ । यो जिल्ला तामाङ, नेवार, मुसलमान, दलित, राई (दनुवार), कुमाल, क्षेत्री, ब्राह्मण आदि जातजातिको मिश्रित र शान्तिपूर्ण बसोबास भएको समाज हो । संस्कृति तथा परम्पराका अनेकौँ रोचक गतिविधि यहाँ भइरहन्छन् ।