पूर्व सल्लाहकार माइकल फ्लिनद्वारा झुटो बोलेको स्वीकार

630
views

काठमाण्डौ, १६ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा बर्खास्त गरिएका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँगको आफ्नो सम्पर्कबारे संघीय छानबिन निकाय ’एफबीआइ’सँग झुटो बोलेको स्वीकार गरेका छन् ।वाशिङटनका लागि रुसी राजदूतसँग गरेको संवादबारे आफूले झुटा अभिव्यक्ति दिएको उनले स्वीकारेका हुन् ।

वाशिङटन डीसीस्थित एउटा संघीय अदालतमा उपस्थित हुँदै फ्लिनले आफूले जानाजान ’झुटो, कपोलकल्पित र धोकाधडीपूर्ण’ अभिव्यक्ति दिएको स्वीकार गरे । अदालतमा उपस्थित समाचार संस्था एएफपीका अनुसार न्यायाधीशले दोषी रहेको फ्लिनको अभिव्यक्ति स्वीकार गरेका छन् । फ्लिनले अदालती सुनुवाइको सामना गर्न नपर्ने न्यायाधीशले बताएका छन् ।

अदालतमा बयान दिएपछि जारी गरेको एउटा वक्तव्यमा फ्लिनले भनेका छन्, “मैले पहिला गरेको काम गलत थियो भन्ने कुरा अदालतमा स्वीकार गरेँ र ईश्वरमा आस्था राख्दै अब त्यसलाई सच्याउन लागिपरेको छु ।“

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार फ्लिनले ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित राष्ट्रपतिका संक्रमणकालीन समूहका वरिष्ठ सदस्यहरुले रुसीहरुसँग सम्पर्क गर्न निर्देशन दिएको भन्ने बयान दिने तयारी गरेका छन् ।
फ्लिनले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपबारेको अनुसन्धानमा आफूले सघाउने बताएका छन् । एजेन्सी