ओलीको ‘राष्ट्रवाद’ र कुहिएको फर्सी

701
views

–बद्रिनरसिंह केसी
यतिबेला जङ्गलमा बसेर चुनाबमा बम पड्काउने वा शहर पसेर जबरजस्ती चन्दाको नाममा आतङ्क मच्चाउनेदेखि राष्ट्रवादीको झाँकीमा चुनाबमा भाग लिएर दुईतिहाई बहुमतको सपनामा सत्ता कब्जा गर्नेसम्मका सबै ब्युहरचनामा कम्युनिस्ट पार्टीका विभिन्न रुपहरू छापछाप्ति लागिपरेका छन् ।बम पड्काउनेदेखि थुतुनो पड्काउनेसम्मका आवाजहरू घन्किरहेका छन् । राष्ट्रवादको नारा लगाउन होस् वा ‘बीपी कोइराला बाँचिराखेको भए एमालेमा प्रवेश गर्थे’ भन्नेदेखि ‘काँग्रेसका कार्यकर्ताहरूमा समवेदना’ प्रकट गर्नसम्म एमाले अध्यक्ष खड्गप्रसाद ओली सबैभन्दा अगाडि देखिन्छन् । पञ्चायतले काँग्रेसलाई प्रतिबन्धित गरी ‘अराष्ट्रिय तत्व’ करार गरेका बेला ओलीको तत्कालीन पार्टी नेकपा (माले) चाहिँ काँग्रेसलाई ‘मूख्य दुश्मन’ का रुपमा किटान गर्दै काँग्रेसलाई हेर्ने सवालमा पञ्चायतको मतियार भएको थियो । आज त्यस्तै मानसिकताले उनी काँग्रेसप्रति रवैया अपनाइरहेका छन् । 
एमाले अध्यक्ष खड्ग र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पार्टीहरूलाई मिलाएर वाम गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने जुन बाटो लिइरहेका छन्, संविधान पालन गर्ने पुनीत ध्येयले चुनाबमा दुईतिहाई बहुमत हासिल गर्नुपरेको होइन संविधान नै हातमा लिएर त्यसको आपूmखुशी संशोधन गरी लोकतन्त्र र संसदीय व्यवस्थाका आधारभूत मूल्य–मान्यताहरूलाई बिसर्जन गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको नयाँ व्यवस्था लागु गर्ने नियत र लक्ष्यलाई राष्ट्रवादको जलप लगाएको नारा घन्काइदै छ । खड्ग ओलीको ‘राष्ट्रवाद’ को असली पहिचान पहिले नै भइसकेको हो । महाकाली सन्धीदेखि टनकपुर बाँधले ओगटेको ५७७ मिटर भूभाग ‘मित्रताका लागि त्यति भूभाग ठूलो कुरा होइन’ भन्नेसम्मका अनेकौँ सन्दर्भद्वारा भारतभक्तिमा नाम कहलिएका भनी आफ्नै सहकर्मी नेताहरूले बारम्बार चिनाइसकेका उनलाई आज कुन अनुरागले राष्ट्रवादको माला जप्न प्रेरित ग¥यो एमालेका समकालीन नेताहरू नै आश्चर्य मान्छन् । 
“स्थिर सरकार, निर्माण, विकास र समृद्धि” को नारा पनि सँगसँगै घन्किरहेको छ । तर ३ वर्षअघिदेखि टहरामा बस्दैआएका भूकम्प पीडितहरू र ४ वर्षअघिदेखि त्यस्तै अवस्था भोगिरहेका बाढीपीडितहरूलाई नयाँ घरमा सारेर नयाँ जीवन दिनेबारेमा कुरै छैन । कुरै मात्र भए नै, तर गर्ने इच्छाशक्ति कदापि देखापरेन । सबै कुरा चुनाबी प्रपोगण्डाका मसला बने, र चुनाब सत्ता हत्याउने नाङ्गो नाच । 
प्रपोगण्डा कम्युनिस्टहरूको अस्तित्वरक्षक हतियार हो । विघटित सोभियत संघमा सबभन्दा लामो (१८ वर्ष) शासन चलाएका सोभियत कम्युनिस्ट पार्टीका महासचिव लियोनिद ब्रेजनेभले साँचो बोलेका छन्, “तपाईँहरूलाई थाहै छ, म कुनै लेखक होइन पार्टीको कार्यकारी हूँ । परन्तु हरेक कम्युनिस्टले जस्तै मैले पनि कम्युनिस्ट पार्टीले फैलाएको प्रपोगण्डाअनुरुप परिचालित हुनैपर्छ र हाम्रो पार्टीको प्रेसका लागि काम गर्न सरिक हुनुपर्ने आफ्नो कर्तब्य मान्नैपर्छ ।”
‘नौलो जनवाद, आमूल परिवर्तन र नयाँ नेपाल’ को प्रपोगण्डा मच्चाएर माओवादीले १० वर्षे हत्या, हिंसा र लूटतन्त्र मच्चायो । जसरी १० वर्ष लामो हिंसात्मक द्वन्द्व र रक्तपात नेपालको इतिहासमै सबभन्दा ठूलो त्रासदी र त्यसका नारा धोकेवाज सावित भए त्यही मुखले आज “स्थिर सरकार, निर्माण, विकास र समृद्धि” को नारा सँगसँगै रेल र पानीजहाजका सपनाको ब्यापार गरिरहेका छन् । तर खड्ग र प्रचण्डको नैतिकता वा राजनीतिक इमानदारी कुन स्तरमा छ भन्ने बुझ्न सत्तामा टाँसिइरहेको माओवादीको चरित्रले प्रष्ट पार्दैन र ! माओवादीका मन्त्रीहरूलाई सत्ता छोडाउन न प्रचण्ड चाहन्छन् न त खड्ग ओलीको इच्छा नै देखिन्छ । दुबैको बास्तविक नियत समान भएको यसै प्रकरणले छर्लङ्ग पारिरहेको छ ।
प्रचण्ड–खड्गलाई न त समाजवाद चाहिएको हो, न त लोकतन्त्र वा राष्ट्रवाद नै । राजनीतिक स्थिरता पनि चाहिएको होइन । मुलुकले राजनीतिक अस्थिरता भोगेको दुई दशक बिते पनि उनीहरू सत्तामा वा त्यसैको वरिपरि नै घुमिरहेका छन । उनीहरूको ध्येय फगत सर्वसत्तावाद, परिवारवाद र अवसरवाद हो । त्यसैको स्वार्थ रक्षाका क्रममा राष्ट्रवादको नारा घन्काइएको हो । सत्तामा बस्न पाइरहिन्छ भने यो संविधानका आधारभूत मूल्य–मान्यतालाई तिलाञ्जली दिएर चिनिया मोडेलको ‘जनवादी समाजवाद’ लागु गर्न उनीहरूलाई कुनै आपत्ती रहेनछ । त्यसका लागि अर्को राजनीतिक अस्थिरता र संवैधानिक संकट निम्त्याउन तयार भएर नै एमाले र माओवादीका वर्तमान गतिविधि सल्बलाएका हुन् । अस्ट्रियामा जन्मेर इजराइलमा बसाईँ गएका प्रसिद्ध अस्तित्ववादी दार्शनिक मार्टिन बुबरले ठीकै भनेका रहेछन्, “वास्तविक संघर्ष पूर्व र पश्चिमका बीच होइन, पूँजीवाद र साम्यवादका बीच पनि होइन, बरू शिक्षा वा चेतना र प्रपोगण्डाका बीचको हो ।”
२०६३ को परिवर्तनपछिका ११ वर्षमा नेपालमा एमाले र माओवादीका ५ जना कम्युनिष्ट नेताहरूले ६ पटक सत्ता चलाए भने नेपाली काँग्रेसका ३ जना नेताले र १ निर्दलीय व्यक्तिले सत्ता सम्हाले । त्यस अवधिमा कम्युनिस्ट नेताहरू करिब ७ वर्ष सत्तामा बसे भने काँग्रेसका नेताहरू करिब साडेदुई वर्ष सत्तामा बसे । राजनीतिक स्थिरता, निर्माण, विकास र समृद्धिको नारा दिने माओवादी र एमालेका नेताहरू नै २०४८ सालपछिका सबैजसो सरकारमा हावी भइरहेका छन् । कहिले ‘सुरुङ्युद्ध’ त कहिले ‘राष्ट्रिय स्वाभिमानको आन्दोलन’ आदि धेरै नारा लागे । तर कम्युनिस्टहरूले लगाउने गरेको राष्ट्रवादको नारा निहित स्वार्थपूर्ति र निर्धारित अवधिका लागि उपयोग गरेर मिल्काइदिने (युज एण्ड थ्रो) कन्ट्रासेप्टिभजस्तो भइरहेको यथार्थ उनीहरूकै ब्यवहारबाट प्रमाणित हुँदैआएको छ ।
आजभोली ‘खड्गमार्का राष्ट्रवाद’ का विज्ञापन शैलीका नाराले एमाले र माओवादी पार्टी रंगिएका छन्, तर माथिका यथार्थले यो निर्देशित राष्ट्रवाद वा नक्कली राष्ट्रवाद हो भन्ने बुझ्न थप दलिल र सबुतको दरकार नपर्ला । कुहिएको फर्सीजस्तो बाहिरबाट हेर्दा ताजा लाग्ने तर भित्रभित्रै सडिसकेका नाराले फेरि पनि मतदातालाई थाङ्नामा सुताउने दुस्साहस भइरहेको छ । हाम्रो अर्थमा राष्ट्रवाद निर्वाचन जित्ने विज्ञापन वा प्रपोगण्डा वा सिदासादा जनताको भोट हत्याउने हत्कण्डा होइन । तर कम्युनिस्ट राजनीतिमा बे्रजनेभले माथि भनेझैँ प्रपोगण्डा नै सबै थोक हुन्छ । राष्ट्रवादलाई निहित स्वार्थका लागि पार्टीकरण गर्ने दुस्साहस नै वर्तमान राजनीतिको सबभन्दा बिस्मयकारी पक्ष भइरहेको छ।