प्रधानसेनापति तेस्रो खुल्ला म्याराथन तथा दौड प्रतियोगिताको आयोजना

774
views

काठमाण्डौ, २२ मंसिर । नेपालको समग्र खेलकुदको विकासको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा राष्ट्रको ख्याति बढाउनको लागि नेपाली सेनाले विशेष योगदान पुर्याउँदै आएको छ । राष्ट्रको खेलकुदको बिकासमा थप टेवा पुर्याउने उद्धेश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस २०७४ को उपलक्ष्यमा नेपाली सेनाले आउँदो माघ २७ गते “प्रधानसेनापति तेश्रो खुल्ला म्याराथन दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेपाली सेनाले ‘रन फर फन’ का रुपमा रुपमा युनाईटेड वई स्टाण्ड, स्टाण्ड–कम स्टाण्ड विइथ अस देममा आधारित रही सञ्चालन गर्ने उक्त म्याराथन तथा अन्य दौडहरु सैनिक मञ्च टुडिंखेलबाट शुरुभई काठमाण्डौं उपत्यकाको भक्तपुर, महाराजगञ्ज लगायत विभिन्न स्थानमा समापन गर्ने योजना रहेको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त प्रतियोगिता अन्तर्गत, म्याराथन ४२.१९५ कि.मि. (पुरुष) खुल्ला, हाफ म्याराथन (२१ कि.मि. महिला-पुरुष) खुल्ला, १० कि.मि. (सैनिक सहचारी-विदेशी र सैनिक अधिकृतहरु), ५ कि.मि. (सैनिक बिद्यालयका छात्र÷छात्रा र नेपाली सेनाका सकलदर्जाका छोराछोरीहरु), ५ कि.मि. वाकाथन (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निजामती उच्च पदाधिकारीहरु) गरी पाँच विधाहरु समावेश गरिएको छ ।

खेलाडीहरुको मनोबल उच्च राख्न एवम् हौसला प्रदान गर्नका लागि नेपाली सेनाले विजेता खेलाडीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरेको समेत जनाएको छ । यस्ता प्रतियोगिताले नागरिक र सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै राष्ट्रको समग्र खेलकुदको बिकासमा थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।