गोरखा १ मा माओवादीका अधिकारीसहित वाम गठबन्धन विजयी

556
views

काठमाण्डौ, २४ मंसिर । गोरखा क्षेत्र नम्बर १ मा माओवादीका हरिराज अधिकारी विजयी भएका छन् । ३ हजार २ सय १७ मतान्तरसहित उनी विजयी भएका हुन् । उनले २९ हजार ८ सय ६० मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी कांग्रेस उमेदवार चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरे । ६३ हजार ६ सय १९ मत खसेकोमा ४ हजार ३ सय ३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्नातक गरेका ४९ वर्षीय अधिकारी प्रतिनिधिसभाको सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठलाई नयाँ शक्तिसहित लोकतान्त्रिक गठबन्धनले सघाएको थियो । माओवादी केन्द्रका प्रदेश नम्बर ४ को इन्चार्ज उनको गण्डकी गाउँपालिका दर्बुङ जन्मथलो हो । खरा र प्रष्ट वक्ताका रुपमा परिचित उनी माओवादी विद्रोहबाट समाहित भएका थिए ।

त्यस्तै क्षेत्र नम्बर १ को क र ख प्रदेशमा वाम गठबन्धनका उम्मेदवार लेखबहादुर थापा र रामशरण बस्नेत विजयी भएका छन् । थापाले १६ हजार ५ सय ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी धिरन थापाले १४ हजार १९ मत पाए । माओवादी जिल्ला अध्यक्षसमेत रहेका ४२ वर्षीय थापा गोरखा नगरपालिका ताप्ले निवासी हुन् ।

प्रदेश ख मा एमाले वैकल्पिक केन्द्रीय सदस्य बस्नेत विजयी भएका हुन् । उनले १६ हजार ६ सय ५६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कांग्रेस उमेद्वार राजेन्द्र बजगाईंले १३ हजार एक मत पाए । अनेरास्वियुबाट राजनीतिमा प्रवेश गरेका उनी स्थानीय निकायको पूर्वप्रतिनिधि र एमालेको पूर्व्जिल्ला अध्यक्ष समेत हुन् । उनको जन्मथलो प्रदेश ’क’ को गोरखा नगरपालिका नारेश्वर भए पनि ख बाट विजयी भएका हुन् ।