वाम पार्टीलाई एकढिक्का बनाउने अभियान चाल्ने नारायणकाजी र बामदेव किन हारे ?

337
views

काठमाडौं, २५ मंसिर । एमाले–माओवादी नेतृत्वको वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशैभर चुनाव जितिरहेको छ । मेची–महाकालीसम्मका बहुसंख्यक जिल्लामा अन्य पार्टीलाई ‘क्लिन स्विप’ गर्दै वाम गठबन्धनका उम्मेदवारले निर्वाचन परिणाम पक्षमा पारिरहेका छन् ।
तर, वामपन्थीको पक्षमा जनलहर ल्याउन भूमिका खेल्ने ‘सूत्रधार’ मानिएका एमाले–माओवादीका प्रभावशाली दुई नेता अबको सरकार र संसद्मा हुने छैनन् । निर्वाचनले ‘ठगेका’ त्यस्ता नेता हुन्(एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ।
गौतम बर्दिया–१ मा कांग्रेस नेता तथा सिँचाइमन्त्री सञ्जयकुमार गौतम र श्रेष्ठ गोरखा–२ मा नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भए । माओवादी शान्तिप्रक्रियामा आएदेखि नै यी दुई नेताले नेपालका वामपन्थी पार्टीलाई एकढिक्का बनाउने अभियान सँगै चालेका थिए । झन्डै ११ वर्षको एकता–संघर्ष र पुनःएकताको शृंखलामा ठूला दुई वामपन्थी पार्टीलाई असोज १८ एउटा यस्तो ‘आइस ब्रेक’ बनिदियो, जसले एमाले–माओवादीलाई चुनावमा ६०-४० प्रतिशतको तालमेल र चुनावलगत्तै पार्टी एकता गर्ने तहसम्म र्पुयाइदियो ।
यही अभियानका सूत्रधार थिए श्रेष्ठ र गौतम । तर, दुवै नेताले वाम गठबन्धनले देशभर जनलहर ल्याइरहँदा पनि आफूलाई भने अबको संसद्मा सुरक्षित बनाउन सकेनन् । एकातिर देशभर वामपन्थीले जनलहर ल्याइरहँदा अर्काेतिर आफैँ चुनावमा पराजित भएपछि यी ‘सूत्रधार’ ले के सोचिरहेका होलान् ? माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘गठबन्धन निर्माणका लागि म आफैँ पनि प्रस्ताव गरेर लगातार लागिरहेको मान्छे, अहिले त्यो सफल हुने दिशातिर गयो, सबैभन्दा बढी खुसी त्यसैमा छु । मेरो व्यक्तिगत विजयभन्दा पनि देशले राजनीतिक अस्थिरता अन्त्य गरेर वामपन्थीको सरकार पाउने भयो र समाजवादउन्मुख दिशातिर देश जाने गरी ढोका खुल्ने भयो । सबैभन्दा बढी खुसी यसैमा छु ।’
श्रेष्ठकै जस्तो अनुभूति छ एमाले नेता गौतमको पनि । चुनावमा पराजित भएसँगै आइतबार वक्तव्य जारी गरेरै गौतमले भने, ‘म व्यक्तिगत रूपमा पराजित हुनुपरे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध गराएको छैन ।’
०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएदेखि नै एमाले नेता गौतमले माओवादीसहितको वामपन्थी पार्टीको एकताका लागि प्रयास थालेका थिए । ०६३ मा पार्टी एकताका लागि वार्ता समिति बनाउनेदेखि पार्टीका दस्ताबेज एक–अर्काेमा आदान–प्रदान गर्ने कामसमेत भएको थियो । दुई पार्टीले अँगाल्ने वैचारिक राजनीतिक प्रश्नको मुद्दालाई माओवादीबाट त्यसबेला वार्ता टोलीमा रहेका नेता मोहन वैद्यले प्रश्न उठाएपछि र विकसित राजनीतिक घटनाक्रममा ‘कटवाल प्रकरण’ निम्तिएपछि त्यो प्रयास बिथोलिएको थियो ।
तर पनि गौतम-श्रेष्ठले वाम गठबन्धन निर्माणको प्रयास रोकेनन् । ०६३ को असफल प्रयास ०७२ को महाभूकम्पपछि पुनः अगाडि बढेको थियो । आउने चुनावमा चुनावी तालमेल गर्ने, पार्टी एकता गर्ने र उच्चस्तरीय राजनीतिक समिति बनाउने तीन कुरामा सहमतिपछि त्यसबेला एमाले अध्यक्ष केपी ओलीलाई सरकारको नेतृत्वमा सघाउन माओवादी तयार भएको थियो ।
तर, फेरि दुई पार्टीबीचको सम्बन्धमा ‘ब्रेक’ लाग्यो तर फागुनबाट यी दुई पार्टीबीचको एकताका लागि फेरि श्रेष्ठ र गौतमले नै पहलकदमी सुरु गरेका थिए । स्थानीय तहमा चुनावी तालमेलको प्रयासमा पनि दुवै नेताको उत्तिकै जोड थियो । माओवादीलाई दिने महानगरपालिकाको विषयमा कुरा मिल्न नसक्दा स्थानीय तहको चुनावमा दुई पार्टीबीच समझदारी हुन पाएन । तर, त्यसलगत्तै एमाले नेता गौतमले फेरि वाम गठबन्धन निर्माणको पहलकदमी अगाडि बढाए ।
पछिल्लो छलफलमा भने माओवादी नेता जनार्दन शर्मा जोडिन आइपुगेका थिए । यही छलफलले दुवै पार्टी अध्यक्षलाई सँगै बसेर एकता संयोजन समिति बन्ने, पार्टी एकता गर्ने र निर्वाचनमा ६०-४० सम्मको तालमेल गर्ने समझदारीसम्म र्पुयाएको थियो ।
गौतम-श्रेष्ठ दुवै अहिले एमाले–माओवादी पार्टी एकता संयोजन समितिमा छन् । चुनावी घोषणापत्र पनि यी दुवै नेताको नेतृत्वमा रहेको घोषणापत्र मस्यौदा समितिले बनाएको थियो । आफैँले बनाएको चुनावी घोषणापत्र लिएर चुनावमा जाँदा पनि दुवै नेता पराजित भए । चुनावमा भएको पराजयपछि अब यी दुई नेताको भूमिकाका विषयमा चासो देखिन्छ । गौतम-श्रेष्ठ दुवै आफू पराजित भए पनि संविधानमै उल्लिखित समाजवाद उन्मुख दिशामा नेपाललाई लैजान भूमिका खेल्ने बताउँछन् ।
‘मेरो व्यक्तिगत पराजयको परिणामलाई मैले अहिले गौण मानेको छु । नेपालमा कम्युनिस्ट बहुमतको सरकार पूरा अवधिका लागि बनाउने र नेपालमा मौलिक लोकतान्त्रिक मोडेल कम्युनिस्टमाथि आएको छ । यसलाई सफल बनाउने दिशातिर जानु नै मुख्य कुरा हो, यतैतिर लाग्छु,’ नेता नारायणकाजीले भने, ‘मेरो सपना र संकल्प थियो, अब वामपन्थी सरकारलाई त्यसैमा केन्द्रित गर्ने र पार्टी एकतालाई टुंगोमा र्पुयाउने ।’
नेता गौतमले पनि समाजवाद निर्माणको दिशामा ऊर्जाशील भएर लाग्ने बताए । उनले भने, ‘गठबन्धन अब क्रमशः पार्टी एकतामा रूपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैं, उत्तिकै र अझ ऊर्जासाथ लागिपर्छु ।’
वामलहर चलेका बेला ‘सूत्रधार’ मानिएका यी दुवै नेता चुनावमा किन हारे त ? राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाइमा यी दुई नेताको पराजय संयोग मात्र हो । माओवादी नेता श्रेष्ठले निर्वाचन क्षेत्र छनोट गर्न चुक्नु र एमाले नेता गौतमले बर्दियाको असन्तुष्टिलाई सम्बोधन गर्न नसक्नु पराजयको कारण रहेको उनको बुझाइ छ ।
‘नारायणकाजीले ०७० मै चुनाव लडेको मकवानपुरमा चुनाव लडेको भए सजिलै जित्थे, निर्वाचन क्षेत्र छनोट उपयुक्त भएन,’ विश्लेषक श्रेष्ठले भने, ‘बाबुरामजी नयाँ शक्तिमा गए पनि गोरखामा उहाँले गरेको विकास र जनताको मन जितेका कारण जित्नुभयो । बाबुरामसँग गोरखामा पुगेर जुध्न खोज्नु नै नारायणकाजीलाई फापेन ।’
एमाले नेता गौतमले भने बर्दियाको जनमतभन्दा विपरीत निर्णय यसअगाडि लिन खोज्दा परिणाम उनको विपक्षमा गएको हुन सक्ने श्रेष्ठको आकलन छ । गौतमलाई यसअघि बर्दियाका मतदाताले आफ्नै ठाउँको जनप्रतिनिधिको रूपमा हेर्न चाहेका थिए । त्यहीअनुसार ०७० को चुनावमा जिताएका पनि हुन् । तर, उनले बर्दिया र प्युठान दुईतिर जितेपछि प्युठानलाई रोजे, बर्दिया छाडिदिए ।
‘निर्वाचन जित–हारमा सानातिना फ्याक्टरले पनि काम गरिरहेको हुन्छ, त्यस्तैमध्येको एउटा फ्याक्टर वामदेवजीको हकमा बनिदियो कि ? ’ उनले भने, ‘अरू पनि फ्याक्टर हुन सक्लान्, गहिरो गरी अध्ययन त गर्न पाएको छैन तर ती फ्याक्टरले पनि वामदेव चुनाव हार्नुमा काम गरेको देखिन्छ ।’ अन्नपूर्ण पोष्टबाट