देशलाई आर्थिक समृद्धितिर लैजान्छौ–दाहाल

601
views

चितवन, २८, मंसिर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउँदै देशलाई आर्थिक समृद्धितर्फ अगाडी बढाउने बताउनुभएको छ ।

अध्यक्ष दाहालले नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताउनुभयो ।

दाहालले देशमा भ्रष्टाचार महारोग भएकोले यसलाई नियन्त्रण गर्ने, सुशासन कायम गर्ने जनताको प्रमुख आकांक्षा भएको हुँदा त्यो पूरा गर्ने बताउँदै भन्नुभयो ‘स्थायित्व, सुशासन र आर्थिक समृद्धिततर्फ देशलाई अगाडी बढाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले संघीय गणतन्त्रको संविधान काँग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताउनुभयो । जनतासामु यही कबुल गरेको उहाँको भनाई थियो ।

चितवनको विकास र समृद्धिका लागि जनतासमक्ष प्रतिबद्धता गरेका विषयमा दृढतापूर्वक उभिने दिदै अध्यक्ष दाहालले दाहालले वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले चितवनमा निर्वाचन लड्दा पहिलो पटक निर्वाचन लडेजस्तो महसुस भएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्वाचन जित्दैमा विकास नहुँने र विकास कठिन तर असम्भव नरहेको बताउनुभयो । चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले दृष्टिकोण र संकल्पसहित अघि बढेमा मात्रै विकास सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं २ बाट निर्वा्चित सांसद कृष्णभक्त पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, उपाध्यक्ष शान्ता अधिकारीलगायतले बोल्नुभएको थियो ।