प्रचण्डका विश्वासपात्र कोइरालाको पोखराबाट मुख्यमन्त्रीमा दाबी

833
views

पोखरा, २९, मङ्सिर । प्रदेश नम्बर ४ को राजधानी पोखराबाट युवा नेताले मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेका छन् । कास्कीबाट निर्वाचित दीपक कोइरालाले प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा दाबी गरेका हुन् । उनी माओवादी केन्द्रबाट उम्मेदवारी दिएर प्रदेशसभा १ (क) बाट निर्वाचित भएका थिए ।

कांग्रेस केन्द्रीय सदस्य जीवन परियारलाई हराएका उनी जम्मा ३९ वर्षका छन् । कास्कीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्रका रुपमा चिनिने कोइरालाले चितवन पुगेर दाहाललाई भेटेका थिए ।

‘पार्टीमा लामो समयको योगदान र नयाँ प्रष्ट भिजन मसँग छ,’ उनले भने, ‘अहिलेको समयमा जनताले युवा नेतृत्व खोजेकाले पनि उपयुक्त पात्र मै हुँ ।’

दाहालसँगको भेटमा ४ नम्बर प्रदेश माओवादी केन्द्रले लिनेबारे सम्भावना बलियो देखेको उनले सुनाए । ‘एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङबीच खिचाँतानी छ,’ उनले भने, ‘ति दुवैलाई नबनाएर ४ नम्बर प्रदेश माओवादी केन्द्रले लिने प्रवल सम्भावना छ । यसमा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ कोइरालाले नवदृष्टिसँग भने ।’

माओवादी केन्द्र गोरखाबाट अमर तमु र कास्कीका राजकाजी गुरुङलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो । गुरुङ बाहुल्य क्षेत्रमा सोही समूदायबाट मुख्यमन्त्री बनाउनुपर्ने दबाब वाम गठबन्धनलाई छ । तर दुवै दाबेदारले पराजय व्यहोरेपछि कोइरालाको पक्षमा पासा पल्टिएको हो ।
अमर तमु गोरखाको २ (क) मा कांग्रेसका प्रकाशचन्द्र दवाडी र राजकाजी गुरुङ कास्कीको २ (ख) मा कांग्रेसकै विन्दुकुमार थापासँग पराजित भएका थिए ।

प्रदेश नम्बर ४ मा प्रदेशसभाका ३६ सिटमध्ये माओवादी केन्द्रले ९ वटामा विजय हात पारेको छ । पर्वत १ (क) मा नेत्रनाथ अधिकारी, बागलुङ २ (क) मा चन्द्रबहादुर बुढा, म्याग्दी प्रदेश ‘क’ मा विनोद केसी, तनहुँ १ (ख) मा हरिबहादुर चुमान, २ (क) मा आशा कोइराला, कास्की १ (क) मा दीपक कोइराला, ३ (क) मा रामजीप्रसाद बराल, स्याङ्जा १ (क) मा दीपक थापा र गोरखा १(क) मा लेखबहादुर थापा निर्वा्चित भएका हुन् । तनहुँबाट निर्वाचित आशा कोइरालालाई सम्भावित प्रदेश सभामुखको रुपमा हेरिएको छ ।