पर्वतका तीन सांसद विकास र समृद्धिमा केन्द्रित

693
views

पुस, २ गते । पर्वतका नवनिर्वाचित सांसदहरुले जिल्लाको विकास र समृद्धिलाई केन्द्रित भएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिबार जलजला गाउँपालिकाको माझफाँटमा आयोजना गरेको बिजय उत्सव ¥यालीपछि आयोजित सभामा यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

प्रतिनिधिसभा सदस्य तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले अब नेपालमा बामपन्थीको स्थिाई सरकार बन्ने र त्यसले देश विकास र समृद्धिका लागि केन्द्रित भएर काम गर्ने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र क बाट निर्वाचित माओवादी केन्द्रका पोलीट युरो सदस्य नेत्रनाथ अधिकारीले जनताले स्थिायित्व, विकास र संमृद्धिका लागि व्यक्त गरेको अपेक्षा पुरा गर्न प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र ख मा बिजयी एमालेका नेता विकास लम्सालले संबिधान कार्यान्वयनसंग राजनीतिक अधिकारको लडाई सकिएकाले अब देश विकास र सम्बृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।

सांसदत्रयले बामगठबन्धनलाई मत दिएर जिताएकोमा धन्यवाद व्यक्त गर्दै पर्वतमा विकास आयोजना र बजेट भित्र्याउन तथा स्थानीय बासिन्दाको समस्या सम्बोधनका लागि सक्रिय हुने बताउनुभयो ।

स्थानीय बासिन्दाले जलजला गाउँपालिकाको सडक स्तरवृद्धि, शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधार, खानेपानी, सञ्चार सुबिधा विस्तार, कृषी र पर्यटनको विकासका लागि प्राथमिकता दिन आग्रह गरेका थिए ।

एमालेका नेता लालबहादुर अधिकारीको अध्यक्षता र शान्त नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका बाबुराम कार्कीले स्वागत गर्नुभएको थियो । आमसभा अघि एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले बाजागाजा सहित नाचगान गरेर खुसीयाली मनाएका थिए ।