बूढीगण्डकी जलविद्युत् बनाउन ३ सय ६७ अर्बसम्मको लगानी जुट्यो

709
views

काठमाडौं । सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागेको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तिय स्रोत पनि जुटाएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाका तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तिय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको हो । समितिका संयोजक एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।

यो आयोजना निर्माणका लागि लगानी गर्न कार्वन ट्याक्स मुख्य स्रोतसँगै नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय विमा संस्थान तथा अन्य विमा कम्पनीहरु, जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषसमेत आयोजना निर्माणका लागि लगानी गर्न सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा यो आयोजना निर्माणका लागि एक वर्ष भित्रै करिब २ सय ७० देखि ३ सय ६७ अर्ब लगानी गर्न सक्ने क्षेत्रहरुको पहिचान गरिएको छ । समितिले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन कठिनाई नरहेको पनि स्पष्ट पारेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री कमल थापाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण स्वदेशी लगानीमा सम्पन्न हुने सुनिश्चित भएको स्पष्ट पारे ।