तीनसाताभित्र प्रदेश नम्बर–५ को राजधानी दाङ

616
views

दाङ, ७ पुस । उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले केही अवरोध नभए अबको तीन साताभित्र नयाँ सरकार गठन हुने बताएका छन् ।

शुक्रबार दाङको घोराहीमा प्रेस सेन्टर र प्रेस चौतारी दाङले संयुक्तरुपमा आयोजना गरेको पत्रकार भेटघाटमा महराले सरकार गठन पहिले कि राष्ट्रियसभा गठन भन्नेमा केही विवाद रहेको बताए ।

यो विवाद पनि केही दिनमै समाधान हुने र नयाँ सरकार गठन हुने उनको भनाइ थियो । उनले ‘राष्ट्रियसभा नभइ सरकार बन्दैन’ भन्ने र त्यसमा एकलसंक्रमणीय वा बहुमतीय हुने भन्ने विषयमा केही समस्या उत्पन्न भएपनि त्यो समस्या केही समयमै हटेर जाने विश्वास व्यक्त गरे ।

त्यस्तै, प्रदेशका मुकाम तोक्ने विषयमा पनि प्रदेश नम्बर–४ बाहेक अरु सबै प्रदेशमा विवाद रहेको उनले बताए ।उनले प्रदेश नम्बर–५ को राजधानी दाङमा बन्ने आधार बलियो भएको जिकिर गरे । सुरक्षा, विकासलगायतका आधारमा दाङ राजधानीका लागि बलियो भएको उनको दाबी छ ।

‘दाङ सुरक्षाका हिसाबले प्रदेश नम्बर–५ को राजधानी बन्ने आधारमा बलियो छ’–उनले भने–‘यहाँ राजधानी बन्ने सम्भावना धेरै छ, यो हाम्रो दाबी पनि हो ।’ माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरणको पहल द्रुतगतिमा अघि बढिरहेको बताए ।