पार्टी एकताको मोडालिटीमा छलफल, आशंका र भ्रम चिर्दै ओली–दाहाल

552
views

काठमाडौं १३, पुस । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल सुरु गरेका छन् ।

पार्टीका अध्यक्ष तहमा संगठनात्मक मोडालिडी र दोस्रो तहका नेताबीच वैचारिक राजनीतिक छलफल गर्ने गरी एकताको गृहकार्य अगाडि बढेको हो ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार ओलीनिवास बालकोटमा भएको भेटमा पनि पार्टीको मूल नेतृत्वको व्यवस्थापनसहित संगठनात्मक मोडालिटीको विषयमा छलफल भएको थियो ।

दुवै पार्टीबीच पार्टी एकतासँगै नेतृत्व व्यवस्थापन र सरकारको विषयमा मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार दोस्रो तहका नेताबीच पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको पनि नेता ज्ञवालीको भनाई छ ।

‘दुई अध्यक्षको भेटअगाडि अविश्वासको संकट भएको हो कि, एकता भाँडिएको हो कि भन्ने अनेकौं आशंका कसैले नियोजित रूपले, कसैले प्रश्नका रूपमा उठाएका थिए । त्यसलाई चिर्दै मूलतः चार विषयमा उहाँहरूले छलफल गर्नुभयो’, ज्ञवालीले भने।

‘एकता संयोजन समितिको बैठक बोलाउने, निर्वाचन आयोगलाई समानुपातिकको नतिजा सार्वजनिक गर्न आग्रह गर्ने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकारलाई आग्रह गर्ने विषयमा छलफल केन्द्रित भयो’, उनले भने।राष्ट्रियसभा निर्वाचन अध्यादेश विवादको विषय बनेको एकल संक्रमणीय व्यवस्थाबारे दुवै नेताबीच कुनै छलफल भएन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दुई अध्यक्ष बीचको भेटघाट सौहार्दपूर्ण र सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘दुई पार्टीको एकता, एकता संयोजन समितिको बैठकलगायत विषयमा छलफल भयो र छलफल सकारात्मक नै भयो ।’

राष्ट्रपति, पार्टी अध्यक्ष सभामुख, मन्त्रालयको भागबन्डालगायत विषय नेताहरूले टुंगाउन बाँकी छ । एकता संयोजन समितिको बैठक बस्नुअघि ओली दाहालले फेरि एक पटक वान टु वान छलफल गर्ने भएका छन्। त्यसपछि मात्रै संयोजन समितिको बस्ने नेताहरूले बताएका छन्।

समझदारीअनुसार ओली–दाहाल दुवै कार्यकारीमा रहने कुरा दाहालले खुलाउँदै आएका थिए । यस अर्थमा ओली प्रधानमन्त्रीमा निर्विकल्प देखिएका छन् । तर, एकीकृत पार्टीको अध्यक्ष को बन्ने भन्नेमा भने टुंगिएको छैन । त्यसमा माओवादी अध्यक्ष दाहाललाई दिने गरी समझदारी भएको बताइन्छ ।

सरकार र पार्टी नेतृत्व आलोपालो गर्दै चलाउने समझदारी भएको नेताका बीचमा चर्चा चल्दै आएको थियो। दुवै पार्टीबीचको सैद्धान्तिक एकतालाई कार्यान्वयन गर्ने क्रममा राष्ट्रपति, पार्टी अध्यक्ष, सभामुखदेखि सरकारमा प्रतिनिधित्व गर्दा मन्त्रालयको भागबन्डादेखि दोस्रो तहका नेताहरूको व्यवस्थापनसम्मका विषयमा टुंगो लगाउनु पर्नेछ । त्यस्तै, एकीकृत पार्टीको वैचारिक राजनीतिक लाइन के हुने भन्नेजस्ता विषय टुंग्याउन बाँकी छ ।

दुवै अध्यक्षको बैठकले निर्वाचन आयोगलाई समानुपातिक तर्फको नतिजा छिटो सार्वजनिक गर्न पनि आग्रह गर्ने सहमति भएको छ । त्यस्तै, वर्तमान सरकारलाई नयाँ सरकार गठनका लागि छिटो मार्गप्रशस्त गर्न बाटो खोल्न र यसलाई नअड्काउन आग्रह गर्ने सहमति भएको एमाले प्रचार विभाग प्रमुख ज्ञवालीले बताए । एकता संयोजन समितिको बैठक बस्नुअघि दुवै अध्यक्षबीच एक चरण बस्ने सहमति भएको छ ।

समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्। उक्त समितिको बैठक कात्तिक १५ यता बस्न सकेको छैन। दुई पार्टीको एकतालाई अगाडि बढाउन १७ असोजमै पार्टी एकता संयोजन समिति गठन भएको थियो। उक्त समितिलाई पार्टी एकताका वैचारिक राजनीतिक आधार तयार पार्ने संगठनात्मक कार्य्विधि निर्माण गर्नेलगायत विषयमा आवश्यक गृहकार्य गर्ने कार्यादेश छ ।