प्रचण्डको अभिव्यक्ति विरुद्ध कडा चेतावनीः हात काट्नेदेखी सार्वजनिक हत्यासम्म !

508
views

काठमाण्डौ, १३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्साको ठोरीबारे दिएको अभिव्यक्ति विरुद्ध पार्टीकै नेताहरु नै सार्वजनिक रुपमा विरोधमा उत्रेका छन् । संघीय समाजवादी फोरम नेपालका नेताहरुले प्रदर्शन गरेका थिए । फोरम नेताहरुले प्रचण्डले अभिव्यक्ति फिर्ता नलिए हात काट्ने धम्की समेत दिएका थिए ।

पार्टी अध्यक्षको अभिव्यक्तिविरुद्ध पार्टीकै नेताहरु सार्वजनिक रुपमै विरोधमा उत्रेका छन् । बुधबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरेर माओवादी केन्द्रका केन्द्रीय सदस्य जालिम मियाँले अध्यक्ष प्रचण्डले हचुवाको भरमा ठोरीबारे बोलेको भन्दै विरोध गरे ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष समेत रहेका मियाँले ठोरी गाउँपालिका पर्साको अभिन्न अंग भएको बताउँदै एक इन्च पनि प्रदेश नं ३ मा गाभ्न नमिल्ने बताए । उनले जर्बजस्ती गाभ्ने प्रयास गरिए ‘कत्लेआम’ (सार्वजनिक हत्या)’ गर्न पनि पछि नपर्ने चेतावनी दिए ।

‘ठोरी गाउँपालिकाको जल, जंगल जमिन पर्सावासीको सम्पत्ति हो, जसजसलाई जहाँजहाँ जानु छ गए हुन्छ तर जमिन एक इन्च पनि लिएर जान पाइँदैन । यसमा कसैसँग कुनै सम्झौता हुँदैन, ठोरीलाई प्रदेश नं ३ मा हैन २ मै राख्नुपर्छ, यदी कोही पर्सावासीको भावना विपरित जान्छन् भने कत्लेआम गर्न तयार छु’ मियाँले भने ।

केही दिन पहिले ठोरीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ठोरीलाई प्रदेश नम्बर ३ मा गाभ्ने आश्वासन दिएका थिए । प्रशासनिक सुगमताका कारण ठोरीलाई चितवनसँग गाभ्न उपयुक्त हुने बताएका थिए ।

यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्न सिफारिस गर्ने निर्णय समेत गरिसकेको छ । ठोरीबासीले चितवनसँग गाभ्न माग गर्दै आएका छन्। स्थानीय चुनाममा ठोरीमा गाउँपालिका प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा माओवादी केन्द्रले चुनाव जितेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्ने अभिव्यक्ति दिएपछि अहिले सर्बत्र बिरोध भइरहेको छ ।

अध्यक्ष प्रचण्डको यस्तो घोषणाले फेरि मधेसमा आन्दोलन चर्किने भन्दै अभिव्यक्ति फिर्ता लिन माकेका मधेसी नेताहरुले सुझाव दिइरहेका छन्।

भारतसँग सीमा जोडिएको ठोरी पर्सा जिल्लामा पर्ने भए पनि चितवन भएर जानुपर्छ । साविकको ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस मिलाएर हाल ठोरी गाउँपालिका बनेको छ ।