राजनीतिमा युवा र गगन थापाको सन्यासको धोषणा

618
views

–बद्रिनरसिंह के.सी
पछिल्लो जनआन्दोलनका परिणाम र प्रभावबाट आमजनता निराश भएर उक्ताउन थालिसकेको आसय हालैको निर्वाचन परिणामको अन्तरनिहित स्वभावले देखाएको छ । जनता राजनीतिक व्यवस्थाको मात्र होइन, विद्यमान अवस्थामा नै परिवर्तन चाहन्छन् भन्ने यथार्थ राजनीतिमा उनीहरूले खोजेको नयाँ अनुहार, नयाँ पुस्ता र नवीन कार्यशैलीका लागि युवा उम्मेद्वारहरूलाई परेको मतले पनि जाहेर गर्दछ । नेपाली काँग्रेसमा गगन थापा, धनराज गुरुङ्, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, रामहरि खतिवडा, चन्द्र भण्डारी, प्रदीप पौडेल, सुरेन्द्र पाण्डे, बद्री पाण्डेजस्ता युवा हस्तीहरू, एमालेबाट रविन्द्र अधिकारी, योगेश भट्टराई, गोकर्ण विष्ट, राजन भट्टराई, रामकुमारी झाँक्री, नविना लामा र माओवादी केन्द्रबाट जनार्दन शर्मा, लेखनाथ न्यौपानेजस्ता अनुहारहरूको बढ्दो महत्वबाट जनआकर्षणलाई नाप्न सकिन्छ, यद्यपि यीमध्ये कतिपय युवाहरू निर्वाचनमा पराजित पनि हुनपुगे । यी लोकप्रिय युवा नेताहरूमध्ये पनि सर्बा्धिक चर्चित र लोकप्रिय मानिएका गगन थापाको राजनीतिक गतिविधिलाई उदाहरण बनाएर यस आलेखमा विश्लेषण गरौँ ।

सामाजिक सञ्जालदेखि निर्वाचन परिणामसम्म, आमसभाका प्रमुख आकर्षणको रुपमा होस् वा सञ्चार माध्यमले गर्ने खोजीमा होस्, गगन थापा राजनीतिक क्षेत्रका सर्वा्धिक लोकप्रिय युवा नेता र सेलिब्रेटीका रुपमा स्थापित रहेको यथार्थ झुटो रहेन । उनको निर्वाचन क्षेत्रका मतदाताहरू भन्छन्, “अघिल्लो चुनाबमा गगनलाई आसाको भोट दिइयो, यसपाली भरोसाको भोट दिएका छौँ । किनभने यस अवधिमा यिनले हामीउपर बेइमानी गरेनन् ।’

नेता पनि मान्छे नै भएकोले निजका गल्ती हुनसक्छन् । तर बेइमानी गर्नु हुँदैन । गल्ती सहन सकिन्छ, बेइमानी सहन सकिँदैन । पहिले यहाँ गगनजीका गल्तीलाई हेरौँ । उनको गल्ती हो, आपूm ५५ वर्ष उमेर पुगेपछि राजनीतिबाट सन्यास लिने घोषणा ।

वास्तबमा ५५ वर्ष राजनीतिबाट सन्यास लिने उमेर होइन, बरू जीवनबाट परिपक्वता हासिल गरेर राष्ट्रिय नेतृत्व दिने मध्यउमेर हो । विश्वमा जति पनि प्रभावशाली राजनेताहरू आफ्नो सामथ्र्य, शक्ति र लोकप्रियताको सर्बोच्च तहमा पुगे, प्रौढावस्थामै पुगेका हुन् । अझ स्पष्ट हुन एक दुईवटा उदाहरण हेरौँ । आधुनिक सिंगापुरका निर्माता लि क्वान यु सन् १९५९ मा सत्तारुढ हुँदा ३६ वर्षका थिए, करिब गगनजीकै उमेरका । उनी सत्तामा ३१ वर्ष बसे र ६७ वर्षको उमेरमा सत्ताबाट विदा भए । पहिलोपटक आपूmलाई पेरिफेरल न्युरोपेथी नामक स्नायुसम्बन्धी समस्याका कारण खुट्टा अपेक्षाकृत कमजोर भएपछि उनले भनेका थिए, “मान्छे ह्विल चेयरमा बसेर पनि योगदान पु¥याउन सक्छन् भने मेरा त दुवै खुट्टा ठीकै छन् । त्यसैले म अझै मुलुकको लागि योगदान पु¥याउन सक्छु ।” लि क्वान युको मान्यतामा बुढौती आपैmँमा समस्याभन्दा आत्मबल हिनहरूको बहाना हो ।

नेपालमा गिरिजाप्रसाद कोइराला ६७ वर्षको उमेरमा, कृष्णप्रसाद भट्टराई ६५ वर्षको उमेरमा, मनमोहन अधिकारी ७४ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको हो । मोरारजी देशाई सन् १९७७ मा ८१ वर्षको उमेरमा भारतको चौथो प्रधानमन्त्री बने र आफ्नो कार्यकाल सकुशल धाने । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी ६४ वर्षको उमेरमा प्रधानमन्त्री भएका हुन् । डोनाल्ड ट्रम्प ७१ वर्षको उमेरमा अमेरिकाका राष्ट्रपति भए । त्यसैले एउटा निश्चित उमेरपछि सक्रिय राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने गगनजीको मान्यता नै अमान्य छ । राजनीतिमा पाकाहरूको होश र युवाहरूको जोशको समन्वय भयो भने मात्र त्यो राजनीति फलदायी हुन्छ । काँग्रेसमा नेतृत्वको खडेरी देखिन लागेको अवस्थालाई निवारण गर्न गगनजस्ता युवाहरूले यही कार्यशैलीका साथ नेतृत्व लिन सक्नुपर्छ ।

राजनीतिमा उमेरको सीमा र जन्मको बन्धन रहँदैन । सर्वमान्य नेता गणेशमान सिंहले राजनीतिबाट सन्यास लिने कुरा गर्दा कृष्णप्रसाद भट्टराईले भन्नुभएको थियो, “तपाईँले हामीलाई छोडेर सन्यास लिन्छु भन्न पाउनु हुन्न, मौसोलिममा सुतेर पनि तपाईँले नेतृत्व दिइरहनु पर्छ ।” हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले जनाधार नभएर निर्वाचन हारेको होइन, यसलाई नेतृत्वको अभाव जनताले महसुस गरेको अर्थमा बुझ्नुपर्छ । जो नेतृत्वमा छन्, तिनलाई हेरेर जनता भोट दिन इच्छुक रहेनन् । त्यसैले काँग्रेसले एमालेकै हाराहारीमा मत पाउँदा काँग्रेसका उम्मेद्वारहरू भने माओवादीको भन्दा थोरै संख्यामा विजयी भए । गतिशील र समर्पित नेतृत्व हुन्थ्यो भने नेपाली काँग्रेसलाई सामान्य बहुमत हासिल गर्न गाह्रो थिएन ।

नेपाली काँग्रेसभित्र गगन थापा लगायत माथि उल्लेखित अन्य पार्टीका होनहार युवा नेताहरूको लोकप्रियता एक थरिलाई औडाहाको विषय भएको छ । त्यसैले पाएसम्म उनीहरूलाई ‘तलै सिध्याइदिने’ षड्यन्त्रका सूत्रधारहरू शक्तिको नजिक बसेर यन्त्र चलाइरहेका छन् । एमाले र माओवादी लगायतका अन्य पार्टीहरूमा पनि त्यही हालत हुनुपर्छ । एमालेबाट राजन भट्टराईलाई हार्छ भन्ने जानीजानी गगन थापाका बिरूद्ध उठाइएको अर्थमा बुझेपछि नयाँ पुस्ताले काँग्रेसभित्र झेल्नु परेको झमेला अन्य पार्टीमा पनि रहेछ भनी सजिलै अनुमान गर्न सकिन्छ ।

सबै पार्टीहरूमा मात्रात्मक रुपमा नयाँ र पुरानो पुस्ताका बीच द्वन्द्व रहेको यथार्थ त यसै पनि बुझ्न सकिन्छ । नैतिकवान, प्रतिभाशाली, बुद्धि र विवेकको धनी व्यक्तित्वलाई राजनीतिमा उठ्न नदिने गुनासो ब्यापक मात्रामा सुनिने गर्छ । अझ कतिपय पार्टीमा शीर्ष नेतृत्वको आड र अभयदानद्वारा नै यस्ता तत्वहरूले प्रश्रय पाइरहेका छन् । युवा नेतृत्वले यस्ता कुप्रवृत्तिलाई पार्टीबाट निर्ममतापूर्वक सामना र परास्त गर्न सकेनन् भने स्थिति अझ जटिल र भयावह हुन जाने पक्का छ । गगनजीले ५५ वर्षमा सन्यास लिने कुराले इमानदार र नैतिकवानमध्ये कसैलाई पनि सन्तुष्ट बनाएको छैन, बरू राजनीतिमा घुसपैठ गरेका संदीग्ध व्यक्तिहरू र भ्रष्टाचारमा मालामाल हुन पाइरहेकाहरूलाई चाहिँ पक्कै खुशी बनाएको हुनुपर्छ । पार्टीमा नैतिकताको राजनीति गर्नेहरूले नै राजनीति छोडिदिए भने अनैतिकता र अपराध मच्चाउनेहरू नै भाग्यमानी हुन्छन् । त्यस्तो अवस्थामा गगनजी जस्ता युवा राजनेताको सन्यास पलायनको अर्थमा बुझिन्छ ।

आज पार्टीहरूभित्र अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण गर्ने प्रवृत्ति खतरनाक गतिमा बढिरहेको छ । राजनीतिमा खर्च हुने धन कालो हो कि वैध हो, अथवा कुन स्रोतबाट आएको हो भनेर न उम्मेद्वार न त मतदाता कसैले अपवादको रुपमा समेत सोधेको थाहा भएन । पैसाको बोलवालाले विचार, मूल्य, मान्यता र नैतिकतामा आधारित राजनीतिलाई निमिट्यान्न बनाउन लागेको छ । यसले गर्दा लोकतन्त्र साह्रै सीमित सुविधाभोगी र धमिलो पानीमा माछा मार्न सिपालुहरूका लागिमात्र आएको प्रतीत हुन्छ । समाजको मध्यमवर्ग र तल्लो वर्ग, गाउँघर २०४६ सालतिर जस्ता थिए, उस्तै छन् । साँच्चै भनूँ भने उजाडिएका छन् ।

यस्तो विषाक्त वातावरणलाई स्वच्छतामा रुपान्तरण गर्न सबै पार्टीका युवाहरूको बेग्लै अभियान शुरू हुनुपर्छ । त्यसको नेतृत्व वा संयोजन युवाले नै गर्नुपर्छ । यसमा जतिजति ढिलो हुन्छ, अत्याचारीहरूको हौसला त्यति नै बढ्दैजान्छ । त्यसैले सबै पार्टीहरूमा युवाशक्तिको एकता र ऐक्यबद्धताको शुरुआत होस् । त्यसपछि ‘राजनीतिक स्वछताका लागि अन्तरपार्टी युवा दबाब समूह’ बनाउनु पर्छ । त्यस्तो समुहले राजनीतिमा आएका विकृती, असंगति र छाडापनमा नियन्त्रण ल्याई नयाँ पुस्तालाई अगाडि बढ्ने सुगम बाटो प्रशस्त गरिदिने छ ।

युवाहरू राजनीतिको अग्रपंक्तिमा आए भने मुलुकले खोजेको परिवर्तनले सार्थकता पाउँछ । विदेशिएका युवाहरू पनि स्वदेशमै उद्यम र रोजगारी चलाएर मुलुकको अर्थतन्त्रलाई गुल्जार गर्ने अनुकूल वातावरण पाउँछन् । अधिकांश युवाहरू विदेशिएको मुलुकमा अराजकताले हौसला पाउँदो रहेछ भन्ने अनुभव हामी नै गरिरहेका छौँ । यस्ता धेरै दृश्य–अदृश्य कारकतत्वहरूलाई ठीक ठेगानमा ल्याउन गगनजी वा अन्य युवा नेताहरू कसैले पनि राजनीतिबाट चाँडै सन्यास लिनु उपयुक्त हुँदैन । सबै पार्टीमा देखिएका होनहार युवा नेताहरूले अग्रपंक्तिमा आउने आँट गर्नुपर्छ र जनताले साथ दिनुपर्छ ।