‘मेरो टिप्पणी ट्रम्प पुत्रप्रति लक्षित थिएन’

411
views

काठमाण्डौ, २४, पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसम्बन्धी एउटा विवादास्पद पुस्तकमा एकजना पत्रकारसँग गरेको उत्तेजनात्मक टिप्पणीबारे उनका पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले स्पष्ट पारेका छन् ।

माइकल वूल्फको नयाँ पुस्तक ’फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’मा आरोपहरू लगाइएका हुन् । उनले सन् २०१६ को जुन महिनामा ट्रम्पका छोरा र रूसीहरूको एउटा समूहबीच भएको भेटघाटलाई उल्लेख गरेका हुन् ।

तर आइतवार ब्याननले आफ्नो भनाइ ट्रम्पका पूर्व सहयोगी पल म्यानफोर्टप्रति लक्षित भएको बताए । सिनेट, हाउस अफ रेप्रेजेन्जेटिभ्स र एउटा विशेष समितिले पनि अमेरिकी राष्ट्रपतीय चुनावमा रूसले गरेको भनिएको हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन् ।

क्रेम्लिन र राष्ट्रपति ट्रम्प दुवैले ती आरोपहरु अस्वीकार गर्दै आएका छन् । एक्सिओस समाचार वेबसाइटले पहिलो पटक लेखेको एउटा अभिव्यक्तिमा ब्याननले डोनल्ड जुनिअर ’एक देशभक्त र असल मान्छे दुवै’ भएको बताएका छन्।

उनले भनेका छन्, “मेरा टिप्पणीहरू पल म्यानफोर्टप्रति लक्षित थिए जो रूस कसरी सञ्चालित हुन्छ भन्नेबारे अनुभव र ज्ञान बटुलेका एक अभियान पेशाकर्मी हुन्। मैले दोर्होयाउनुपर्दा ती टिप्पणीहरू डोनल्ड जुनिअरप्रति लक्षित थिएनन् ।“

ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरू नयाँ पुस्तकले निम्त्याएका असरलाई न्यून गर्ने प्रयासमा राष्ट्रपतिसँगै उभिएका छन् । यसअघि ट्रम्पले आफूबारे लेखिएको पुस्तक कल्पनामा आधारित भएको टिप्पणी गरेका थिए ।

उनले राष्ट्रपति पदका लागि आफू योग्य रहेको पनि बताएका थिए । सीआइएका प्रमुखले पनि किताबमा उल्लेख गरिएका कुरा ’पूर्ण रूपमा काल्पनिक’ भएको बताएका थिए ।