क्रान्तिकारी माओवादी निकट प्राध्यापक र विध्यार्थी संगठनले गरे केसीको रिहाइको माग

1094
views

काठमाण्डौ, २६ पुस । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल (क्रान्तिकारी) ले प्रा.डा. गोविन्द केसीको अविलम्ब रिहाईको माग गरेका छन् ।

डा.केसीले उठाएका माग जायज भएको भन्दै उनले उठाएका मागहरु पूरा गर्न समेत छुट्टाछुट्टै विज्ञप्ती जारी गरी माग गरेका हुन् । प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी र अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्त राज भण्डारीले वक्तव्य निकालेर यस्तो माग गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “भ्रष्टाचारीहरुले सफाई पाउने वा सामान्य धरौटीमा छुटेर इमान एवं नैतिकताको धज्जी उडाईरहेको वर्तमान परिप्रेक्ष्यमा न्यायलय माथिको चरम अविश्वास बढ्दै जानु स्वभाविकै हो । यस्तो अवस्थामा आफ्नो गल्ती कमजोरी सच्याउन छोडेर गल्तीको पुनः पुष्ट्याँई हुने गरी प्रा.डा. के.सी.लाई पक्राउको आदेश दिनु सर्वोच्च अदालतको गम्भीर त्रुटी हो ।

वक्तव्यमा अगाडि भनिएको छ, “गणतान्त्रिक नेपालमा आफुलाई लागेको कुरा बोल्न पाउने र गलत विषयको आलोचना गर्न पाउने अधिकार सुनिश्चित छ । नागरिकको उक्त अधिकार खोस्न खोज्नु वास्तवमा तानाशाही हो । अतः डा. के.सी.को तत्काल एवं सकुशल रिहाई तथा उहाँले उठाएका न्यायोचित मागहरु अविलम्ब पुरा गर्न माग गर्दछौं ।”