माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबिच भेटवार्ता

386
views

काठमाण्डौ, २७, पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

दाहाल र सिंहकाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा उहाँहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिनुभएको थियो । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकरात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताउनुभएको थियो ।

उहाँहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको थियो ।