किमसँग वार्ता गर्न तयार इन

852
views

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दुई कोरियाबीचको सम्बन्ध सुधार्न आफू उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न तयार भएको जनाएका छन् । मंगलबार ऐतिहासिक रूपमा दुई कोरियाबीच उच्चस्तरीय वार्ता भएको थियो । वार्ता सकारात्मक रूपमा सम्पन्न भएपछि आफू पनि छिमेकी नेतासँग वार्ता गर्न तयार रहेको इनले स्थानीय समाचार संस्थाहरूलाई बताएका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति इनले कोरियाली प्रायद्वीपमा देखिएको अशान्ति र आपसी सम्बन्ध विस्तार गर्न दुई कोरियाली नेताबीच वार्ता हुनुपर्ने धारणा राखेका छन् । ‘यदि हामी दुई नेताबीचको भेटवार्ताले कोरियाली जनताको भलो हुन्छ भने म निसर्त वार्तामा बस्न तयार छु,’ इनले भने, ‘यसका लागि २४ घन्टा नै खुला छु ।’

ओलम्पिकले जगाएको आशा

फेब्रअुरीमा दक्षिण कोरियाको प्योङच्याङमा विन्टर ओलम्पिक खेलकुद प्रतियोगिता हुँदै छ । ओलम्पिक खेलकुद आयोजना गर्ने सहर प्योङच्याङ उत्तर कोरियाबाट केवल ३६ किलोमिटर पूर्वमा पर्छ । उत्तर कोरियाले ओलम्पिकमा सहभागिता जनाउने वाचा गरेपछि सम्बन्ध विस्तारको एउटा खुड्किलो भएको राष्ट्रपति इनले बताएका छन् । ‘उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू विन्टर ओलम्पिकमा पठाउने भनेको छ, यी दुई मुलुकबीचको सम्बन्ध विस्तारका लागि कोसेढुंगो साबित हुन सक्छ,’ उनले भने । मंगलबार दुईपक्षीय वार्ता विशेषगरी खेलकुदमै केन्द्रित भएको थियो।

समस्या आणविक परीक्षण
उच्चस्तरीय वार्तामा धेरै विषयमा छलफल भएको एजेन्सीले जनाएका छन् । विशेषगरी उत्तर कोरियाले एक वर्षदेखि आणविक परीक्षणमा तीव्रता दिएको विषयमा केही वार्ता नै नभएको एजेन्सीहरूले दाबी गरेका छन् । दक्षिण कोरियाले आणविक परीक्षणबारे प्रसंग उठाए पनि उत्तर कोरियाली नेताहरूले त्यसको जवाफ फर्काएनन् । आणविक विषय उठाइएपछि उत्तर कोरियाली नेताहरूको व्यवहार फरक भएको जनाइएको छ । उत्तर कोरियाली वार्ता प्रतिनिधिहरूले त्यस विषयमा आफूहरूसँग उत्तर दिने अधिकार नभएको बताए ।

सामूहिक मार्चपासको प्रस्ताव
उच्चस्तरीय वार्तामा दक्षिण कोरियाका प्रतिनिधिहरूले उत्तर कोरियालाई विन्टर ओलम्पिकमा संयुक्त मार्चपास गर्ने प्रस्ताव राखेका छन् ।