मृत्यु संस्कार र भौतिकवादी दृष्टिकोण

651
views

मनहरि तिमिल्सिना
टाउकोले टेकेको समाज र सोंचलाई चित्रित गर्र्दै सडक कवि अर्जुन काफ्ले लेख्छन्, ‘जब आमा जिउँदै हुन्छिन्, हामी आमालाई भोकै राख्छौं र आफूले खीर खान्छौं, जब आमा मर्छिन्, हामी आफूलाई भोकै राख्छौं र आमालाई खीर खुवाउँछौं ।’ काफ्लेको कविता नेपाली समाजको तीतो यथार्थ हो । हाम्रो संस्कृति भौतिकवादको धरातलमा टेकेर आध्यात्मिक तृष्णाको पछाडि भौतारिरहन्छ । त्यसको प्रतिफल काफ्लेको कविता जस्तै हुन्छ ।
विश्व रङ्गमञ्चमा निकै ठूला बहसहरू भए र तिनको किनारा लागे । तर, १. पदार्थ पहिलो कि चेतना ? २. जीवन र जगत बोधगम्य छ कि छैन ? यी दुई प्रश्नको उत्तरमा आजसम्म सिङ्गो विश्व ध्रुवीकृत छ । यिनै २ प्रश्नको उत्तर खोज्ने क्रममा नै जगतमा भौतिकवाद र अध्यात्मवादका रुपमा २ विश्व दृष्टिकोण अस्तित्वमा आए र सङ्घर्षरत् छन् । आजपर्यन्त यिनै २ दृष्टिकोणको वरिपरि सिङ्गो विश्व घुमिरहेको छ ।
विज्ञानको खोज र अन्वेषणका क्रममा असम्भव ठानिएका ठूला–ठूला आविष्कारहरू सम्भव भए । खोजको क्रममा विश्वमा विज्ञानको प्रयोग पनि बहुआयामिक अर्थमै हुँदै आएको छ । तर, खोज र अन्वेषणको सापेक्षिक इतिहास छ । भौतिक विज्ञानका अनुसार पृथ्वीको उत्पत्तिको इतिहास साढे चार अर्ब वर्ष पुरानो छ । जीवको उत्पत्ति र विकासबारे वैज्ञानिकहरूको धारणामा अनेकता भेटिन्छ । यद्यपि, मानिसको उत्पत्तिको इतिहास ४ लाख वर्ष पुरानो मानिन्छ । जतिबेला विश्व ब्रह्माण्डमा भौतिक वस्तुको मात्रै अस्तित्व थियो ।
कतिपय वृत्तमा भौतिकवाद र आध्यात्मिक चिन्तन एवम् दर्शनको तुलनात्मक नजिर पेश गर्दै आध्यात्मिक चिन्तनलाई आदिम चिन्तनको रुपमा उभ्याउने प्रयत्न गरिएको पाइन्छ । तर, इतिहासका कैयौं तथ्य र प्रमाणले त्यसको खण्डन गर्दछन् । धर्मको उत्पत्ति मानिसको उत्पत्तिभन्दा धेरै पछाडि मात्रै भएको हो । विश्वमा आध्यात्मिक चिन्तनको भ्रुण ९० हजार वर्षदेखि प्रारम्भ भएको मानिन्छ । यद्यपि, त्यसले व्यवस्थित दर्शन र धर्मको रुप लिन लामो अवधि लाग्यो ।
धर्मको इतिहास हेर्दा हिन्दू धर्म पुरानो धर्म हो । हिन्दू धर्मको घोषणा–पत्रको रुपमा वेदलाई लिने गरिन्छ । वेदको रचनाकाल एउटै अवधि नभए पनि वेदको रचनाकाल ९००० देखि ६६०० वर्षलाई मानिन्छ । जैन धर्म हिन्दू धर्मसँगै अस्तित्वमा आएको मानिन्छ । त्यसबाहेक मुस्लिम, इस्लाम, इशाई, क्रिश्चियन, बुद्ध धर्मको इतिहास २००० देखि ४००० वर्ष पुरानो मानिन्छ । यी दृष्टान्तहरूका आधारमा भन्न सकिन्छ, ‘आध्यात्मिक चिन्तन र धर्मको विकास पूर्व नै दुनियाँमा भौतिकवादी दर्शन र मान्यता अस्तित्वमा थियो ।’
संस्कृति समकालीन समाजको आर्थिक, सामाजिक, राजनीतिक प्रतिबिम्व हो, ऐना हो । समाजको चरित्र बोल्नु संस्कृतिको विशेषता हो । हाम्रो परम्परागत संस्कृति मूल रुपमा आध्यात्मिक संस्कृति नै हो । यद्यपि, यसका पनि २ आयामहरू छन् । प्राचीन आध्यात्मिक संस्कृतिभित्र प्राकृतिक भौतिकवाद र आध्यात्मिक रुढीवाद अन्तर्निहित छन् । यसको साङ्गो–पाङ्गो लेखाजोखा बिना विद्यमान संस्कृतिका समस्याहरूको पहिचान र शल्यक्रिया असम्भव हुन्छ ।
मृत्यु संस्कारमा हिन्दू धर्म र परम्परा निकै कठोर छ । हिन्दू धर्मका सोह्र संस्कारहरूमध्ये मृत्यु संस्कार नै सबैभन्दा रुढी, बोझिलो र निरङ्कुश संस्कार हो भन्न सकिन्छ । तर, यसभित्र प्राकृतिक भौतिकवादी दृष्टिकोणका केही पक्षहरू छन् । सेतो बस्त्र धारण गर्नु, तामसी भोजन ग्रहण नगर्नु, स्नान गर्नुजस्ता मृत्यु संस्कारका प्रचलनहरू प्राकृतिक भौतिकवादमा आधारित छन् । यसलाई अवलम्बन गर्दा मानिसमा क्रोध, ईश्र्या, खराब विचार नआउने, आयु बढ्ने, सकारात्मक सोंचको विकास हुनेजस्ता जीवनोपयोगी प्रभाव बढ्दछ भन्ने वैज्ञानिक मान्यता छ ।
हिन्दू धर्ममा मृत्यु संस्कारका धेरै सीमाहरु छन्, कमजोरीहरू छन् । तर, हिन्दू मृत्यु संस्कारका सन्दर्भमा भौतिकवादीहरूले विचार गर्ने मुख्य कुरा विश्व दृष्टिकोणकै कुरा हो । परिवारजन र आफन्तको मृत्युपछि दिइने समवेदनाको प्रचलित भाषाले त्यसको राम्रै झझल्को दिन्छ । चीर शान्ति, स्वर्गीय, मृतात्मा, बैकुण्ठबास, देहावसान, स्वर्गारोहण, दैवी विपत्तिजस्ता शब्दावलीहरू आध्यात्मिक दर्शनका शब्दहरू हुन् । बिडम्वना, भौतिकवादका हिमायतीहरू पनि जान–अञ्जानमा यिनै शब्द सापटी लिइरहेका छन् ।
भौतिकवादका हिमायतीहरू अलौकिक शक्तिमा विश्वास गर्दैनन्, उनीहरूको विश्वासको आधार विज्ञान र अन्वेषणले प्रमाणित गरेको प्रयोगशाला हो । भौतिकवादी विज्ञानको प्रष्ट मान्यता छ, ‘विश्वको श्रृष्टि कुनै अलौकिक शक्तिले गरेको होइन, विश्वलाई बुझ्न सकिन्छ । विश्वमा कुनै अलौकिक शक्ति छैन, मानिस कसैको कृपाले होइन, आफ्नै सिर्जना र श्रमले बाँचेको हुन्छ । दुनियाँमा स्वर्ग–नर्क छैन, मानिसले आफ्नै जीवनका सुख–दुःखका आधारमा यसको कल्पना गर्ने हो । मानिस मरेपछि देह मर्ने तर आत्मा जीवित हुँदैन । कुनै काल्पनिक शक्तिको प्रार्थना गर्नु खोज, अन्वेषण र विज्ञानको ढोका बन्द गर्नु हो । मानिसको भविष्य भाग्यमा होइन, आफ्नै श्रम र सिर्जना कर्मले निर्धारण गर्दछ ।’ यसै मान्यताको पक्ष र विपक्षमा उभिँदा नै मानिसको भौतिकवादी र आध्यात्मवादी कित्ता छुट्टिन्छ ।
पदार्थ र चेतनामध्ये कुन प्राथमिक भन्ने बहस आजसम्मको सबैभन्दा पेचिलो दार्शनिक बहस हो । आध्यात्मिक चिन्तक र त्यसका समर्थकहरू भन्दछन्, ‘मान्छे मरेपछि देह अन्त्य हुन्छ । तर, आत्मा जीवित रहन्छ । यो तर्क निकै कृतिम र भ्रामक छ । यदि देह अन्त्यपछि आत्मा जीवित रहन्थ्यो भने वैज्ञानिकहरू आइन्स्टाइन, न्युटन, ग्यालिलियो, माक्र्स, बृहस्पति, चार्वाकका मस्तिष्कको पक्कै उपयोग गर्थे । मरेपछि आत्मा जीवितै हुन्थ्यो भने राजाहरू स्वर्ग वा नर्ककै गद्दीबाट शासन गर्थे । तर, त्यो असम्भव भएकै कारण उनीहरूको मृत्युपछि सत्ता, शासन र सोंच अर्को पुस्तामा स्वतः हस्तान्तरण हुन्छ ।
धर्मको उत्पत्ति मूलतः ४ कारणले भएको मान्न सकिन्छ । १. ज्ञानको तृष्णा, २. नीजि सम्पत्तिको संरक्षण, ३. जीवन उपयोगी वस्तु संरक्षणको चेतना र ४. शक्तिसामू आत्मसमर्पण । प्राचीन युगमा शिक्षाको विकास भएको थिएन । ब्रह्माण्डका प्रत्येक वस्तुका क्रियाकलाप र मानव जीवन नै मानिसका लागि बिल्कुल नयाँ र जिज्ञासाको विषय थियो । सूर्यको चक्र, जीवहरूको विकास र मानवीय क्रियाकलापजस्ता विषय स्वयम् मानिसकै लागि रहस्यमय लाग्थ्यो । प्राचीन मानिस यी सबै रहस्यहरूको उत्तर चाहन्थ्यो । तर, विज्ञान, प्रविधि र अन्वेषणको सीमाका कारण मानिसले चाहेर पनि यी प्रश्नहरूको जवाफ सम्भव थिएन । अन्ततः मानिसले चित्तबुझ्दो जवाफ नपाएपछि रहस्यको जवाफ दैवको पोल्टामा फाल्यो, यसले क्रमशः आध्यात्मिक चिन्तन अस्तित्वमा आयो ।
धर्मको उत्पत्तिको दोस्रो कारण नीजि सम्पत्ति संरक्षणको मनोविज्ञान हो । दुर्वल कविला समूहको सम्पत्ति बलियो कविला समूहले कब्जा गरेपछि त्यसको रक्षाका लागि फौज, विधान र राज्य सत्ताको आवश्यकता पर्न गयो । यही प्रयोजनका निम्ति धर्मको अस्तित्व सतहमा आयो । एउटा कविला समूहको सम्पत्ति कब्जा गर्नुलाई पूर्वजन्मको पुण्यको फलका रुपमा अथ्र्याइयो । आफ्नो लुटको वैधानिकताका लागि धर्म शास्त्रलाई अगाडि सारियो । वेद, पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थहरु यसै प्रयोजनका लागि अस्तित्वमा अगाडि ल्याइयो । यसै कारणबाट नै पूर्वजन्म, पूनर्जन्म, स्वर्ग, नर्क जस्ता काल्पनिक मान्यताहरूले शासकीय बैधता प्राप्त गरे ।
धर्मको उत्पत्तिको तेस्रो र चौथो कारण जीवनोपयोगी वस्तुको संरक्षण र शक्तिसामू आत्मसमर्पण नै हो । वर, पीपल, तुलसी जस्ता अक्सिजनयुक्त बोटबिरुवा, गाई लगायतका जीवनोपयोगी प्राणीको पूजा गर्ने प्रचलनको विकास यहीँबाट भएको पाइन्छ । त्यसैगरी सर्प, बाघजस्ता हिंस्रक जनावर र सूर्य लगायतका ग्रहको पूजा मानवीय उपयोगिता र शक्तिसामू आत्मसमर्पणकै परिणाम हुन् ।
यतिको चर्चापछि एउटा गम्भीर प्रश्न खडा हुन्छ, ‘आध्यात्मिक चिन्तन र हिन्दु धर्ममा मृत्यु संस्कार गलत हो भने आधुनिक, प्रगतिशील र भौतिकवादी सोंच के हो ?’ यो प्रश्न निकै गम्भीर छ । कम्युनिष्ट हुनुको पहिलो शर्त द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी हुनु हो । जो भौतिकवादी हुन सक्दैन, त्यो किमार्थ कम्युनिष्ट हुन सक्दैन । कुनै पनि व्यक्ति कम्युनिष्ट हो वा होइन भन्ने त्यो व्यक्ति कुन पार्टीको कुन तहमा छ भन्ने कुराले निर्धारण गर्दैनन्, बरु उसले माक्र्सवादी विश्व दृष्टिकोण अवलम्बन गर्न सक्छ कि सक्दैन ? भन्ने कुराले निर्धारण गर्दछ । हामीले दक्षिणपन्थी बिल्ला भिराउने चीनिँया कम्युनिष्ट पार्टीले समेत धर्ममा विश्वास गर्नेहरुलाई कम्युनिष्ट पार्टीको सदस्यता नदिने प्रावधानले नै कम्युनिष्ट आन्दोलनमा विश्व दृष्टिकोणको गुरुत्व प्रमाणित गर्दछ ।
हिन्दु मृत्यु संस्कारमा भौतिकवादीहरूको बिमति मूलतः २ कुरामा छ । १. जसले भौतिकवादी विश्व दृष्टिकोणमा विश्वास गर्दछ, उसले आफ्नो जीवनका सम्पूर्ण कर्महरूमा आफूलाई भौतिकवादको पक्षमा उभ्याउन सक्नुपर्दछ । भीडको पछि लागेर कम्युनिष्ट आदर्श र भौतिकवादी सोंचको परित्याग नगर्नु उसको पहिलो दायित्व हो । अलौकिक शक्तिको लीला ठानिएका रहस्यमय मान्यताबाट आफूलाई अलग राख्नु मृत्यु संस्कारमा सबैभन्दा मुख्य रुपान्तरणको प्रश्न हो ।
सांस्कृतिक रुपान्तरणका अन्य पक्षहरू सुधारका पक्षहरू हुन् । संस्कारलाई युगानुकूल परिमार्जन गर्नु, बोझिलो र झञ्झटिलो संस्कारलाई छरितो बनाउनु, क्रिया कर्म छोट्याउनु, दानको सट्टा सामाजिक क्षेत्रमा लगानी गर्नुजस्ता विषय आंशिक सुधारका पक्ष हुन् । यी सुधारहरूले भौतिकवादी विश्व दृष्टिकोणको प्रतिनिधित्व गर्दैनन् । तर, माक्र्सवादको प्रवचन दिएर अलौकिक शक्तिसामू लम्पसार पर्ने कम्युनिष्टहरूले सामान्य सुधार गर्ने मात्रै साहस गरे पनि यसलाई ठूलै उपलब्धि मान्नुपर्ने बिडम्वना हामीकहाँ छ ।
समाजवादी, साम्यवादी समाजमा सांस्कृतिक रुपान्तरण भन्नासाथ भौतिकवादी संस्कृतिलाई अझ समृद्ध पार्नुपर्ने अर्थमा बुझ्नुपर्ने हुन्छ भने सामन्तवादी, पूँजीवादी समाजमा आध्यात्मिक चिन्तनद्वारा विकसित संस्कारहरूको परित्याग, सुधार र संशोधनको अर्थमा सांस्कृतिक रुपान्तरणलाई बुझिन्छ । यसरी हेर्दा हाम्रोजस्तो प्राक—पूँजीवादी समाजमा विद्यमान रुढीवाद, अन्धविश्वास र निरङ्कुशतामाथि परिमार्जनले मात्रै पनि सांस्कृतिक रुपान्तरणको गुरुत्व बोक्दछ ।
आध्यात्मिक चिन्तन र रुढीवाद हिन्दू संस्कृतिमा मात्र छैन । इशाई, ईस्लाम, मुस्लिम, जैन, क्रिश्चियन, बुद्ध सबै धर्ममा यो जडता व्यक्त हुँदै आएको छ । आफ्नो धार्मिक सम्प्रदाय भित्रको आध्यात्मवाद र रुढीवादको विरोध गर्नु सबै समुदायबाट आएका कम्युनिष्ट क्रान्तिकारी र भौतिकवादीहरूको दायित्व हो । यसलाई सही अर्थमा अनुशरण गरेर मात्रै आफूलाई भौतिकवादी र कम्युनिष्ट मान्यताको पक्षमा उभ्याउन सकिन्छ ।