विदेशिन्छन्, उतै हराउँछन् सिन्धु चेली

489
views

किशोर बुढाथोकी (सिन्धुपाल्चोक) । इन्द्रावती गाउँपालिका (साबिक सिम्पालकाभ्रे गाविस) की सोममाया लमिनी १२ वर्षअघि कुवेत पुगेयता परिवारको सम्पर्कमा छैनन् । परिवारका सदस्यले उनलाई खोज्न निकै कसरत गरे पनि केही टुङ्गो लागेन । अझ आमा खोज्नकै लागि भनेर छोरा कुमार कुवेतसम्म पुगे । लमिनीका परिवारका अनुसार उनलाई हेलम्बुका रामबहादुर बोम्जनले कुवेत पुर्याएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका (साविक इर्खु गाविस)की सम्झना तामाङ ७ वर्षदेखि बेपत्ता छिन् । वैदेशिक रोजगारीको सिलसिलामा २०६७ सालमा यूएई गएकी उनी त्यसयता सम्पर्कमा छैनन् । उनी कहाँ के गर्दै्छिन् भन्नेबारे परिवार तथा आफन्त अनविज्ञ छन् । उनको खोजीका लागि परिवार जुटिरहे पनि अझै पत्ता लगाउन सकिएको छैन ।

झण्डै ९ वर्षअघि पाँचपोखरी थाङपाल गाउँपालिका (साविक गुन्सा गाविस)की ५२ वर्षीया कान्छी तामाङ मलेसिया गएकी थिइन् । बैदेशिक रोजगारीकै क्रममा मलेशिया पुगेकी उनी पनि अहिलेसम्म बेखबर छिन् । उनी मलेसियामा छिन् या छैनन् भन्नेबारे परिवार र आफन्त बेखबर छन् । उनको खोजीका लागि अनेकौं प्रयास गरिए पनि अहिलेसम्म अत्तोपत्तो छैन ।

वैदेशिक रोजगारीमा पुगेर उतै बेखबर भएका जिल्लाका यी प्रतिनिधि नाम हुन् । हराएका भनिएकामध्ये केही सिन्धु चेली भेटिएका छन् । उनीहरुलाई विभिन्न संस्थाको सहयोगमा नेपाल फिराइएको पनि छ भने केही चेलीको अवस्था अझै गुपचुप छ ।

जिल्लाबाट वर्षेनी वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या बढ्दो छ । त्यही अनुपातमा विदेशमा हुने गरेको जोखिम पनि उस्तै छ । कोही उतै गायब हुन्छन् भने केही रोग लिएर फर्कन बाध्य भएका धेरै उदाहरण छ । केही चेलीहरुलाई राजदुतावास, प्रवासमा रहेका नेपाली, सञ्चारमाध्यम, गैर नेपाली आवाशीय संस्थालगायतको पहलमा जोखिममुक्त गराई फर्र्काइन्छ । पछिल्लो वर्ष विदेशमा हराएका केही सिन्धु चेलीलाई खोजविन गरेर नेपाल फिराइएको पनि छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी)को तथ्यांकअनुसार अहिले जिल्लाका पाँच चेली विदेशमै हराइरहेका छन् । उनीहरुको खोजीका लागि विभिन्न निकायसँगको सहयोगमा पहल भइरहेको सामीकी जिल्ला संयोजक रिना श्रेष्ठ बताउँछिन् । ‘यो त हामीसँग मात्रै भएको तथ्यांक हो, जिल्लाका कति चेली परिवारको सम्पर्कमा छैनन् भन्ने एकिन छैन,’ उनले भनिन्, ‘यहाँ रहेका अभिभावकले हाम्री छोरी खोजिदिन सहयोग गर्नू भनेकाहरु मात्रै हो ।’ उनले जिल्लाका विकट गाउँका चेलीहरु विदेश पुगेर बेखबर भएका धेरै हुन सक्ने अनुमान लगाइन् ।

सिम्पालकाभ्रेकी सोममाया लमिनी विदेश जाँदा छोरा कुमार १४ वर्षका थिए । अहिलेृ उनी २६ पुगे । उनलाई आमाको पूरै अनुहार अब केही मात्रै याद छ । ‘१२ वर्ष भयो आमालाई नदेखेको, कसरी अनुहार ठ्याक्कै याद गर्नू,’ कुमार भन्छन्, ‘तै पनि फोटो कै भरमा आमा खोज्दै म कुवेत पुगें, केही अत्तोपत्तो लाग्न सकेन ।’ कुमारकाअनुसार उनकी आमालाई रामबहादुर बोम्जन तामाङ नामका दलालले कुवेत पुर्याएका हुन् । विदेश जान चाहने महिला खोज्दै हिंडेका उनले सिम्पालकाभ्रेकी सोममाया लमिनीलाई ‘कुवेत लगेर काम लगाइदिने’ लोभ देखाएर सँगै लिएर गएको उनी बताउँछन् ।

कुवेतमा विभिन्न नेपाली संस्थाहरुमा कुमारले आमाको फोटो देखाएर खोजिदिन आग्रह गरे । नेपालीहरु बस्ने ठाउँमा पनि पुगे । दुतावास धाए । सञ्चारमाध्यममा पनि पुगे । सहयोग सबैबाट भयो, तर उनले आमा भेट्न सकेनन् । अनि २३ दिनपछि नेपाल फर्केको उनले सुनाए । ‘मैले अझै हार मानेको छैन, आमा खोज्दैछु,’ उनले आसा सुनाए, ‘आमा भेटिन्छ भन्ने मलाई विश्वास छ ।’ उनले आफ्नी आमाको खोजीका लागि सबै व्यक्ति र सरोकारवाला निकाय लाग्न अनुरोधसमेत गरे ।

उस्तै कथा इर्खुका टुल्कु तामाङको पनि छ । टुल्कुको सात जनाको परिवारमा अहिले उनीसँग दुई जना मात्रै छन् । सम्झना विदेश पुगेपछि अहिले सम्पर्कमा नआएको लामो समय भयो । अर्की दुई छोरीलाई भूकम्पले लग्यो । श्रीमती पनि कुवेतमै छिन् ।

‘पहिले छोरीले फोन गर्ने गरेकी थिइन्, अचेल गर्दिनन्,’ उनले भने, ‘उनी के गर्दै्छिन् भन्नेबारे हामीलाई केही थाहा छैन् ।’ उनले आफ्नी श्रीमती कुवेत गएपछि छोरीले फोन गर्न छाडेको बताए । सम्झना २०६८ तिर काठमाडौं जोरपाटीकी विमला श्रेष्ठ कुवेत उडेकी हुन् । टुल्कुले आफ्ना साना भाइहरुलाई सम्झिएर सम्झना फर्किने आश भने व्यक्त गरे ।

महिलाहरू वैदेशिक रोजगारमा धेरै जाने जिल्लामध्ये सिन्धुपाल्चोक अग्रणीमा पर्छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०६७ सालयता सिन्धुपाल्चोकका ७ हजार ७ सय ७० महिला वैदेशिक रोजगारका लागि भनेर विभिन्न देशमा गएका छन् । २०७३÷७४ मा मात्रै सिन्धुपाल्चोकका दुई हजार २० जना महिला वैदेशिक रोजगारमा गएको तथ्याङ्क विभागसँग छ । तर, सूचना परामर्श लिएर, सीप सिकेर विदेश जाने महिलाको संख्या निकै कम छ । वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी)का अनुसार आर्थिक वर्ष २०७२ र ७३ देखि २०७३ र ७४ सम्म जम्मा एक सय ४४ जनाले मात्र विदेश जानुपूर्व सीप सिकेका छन् । यसरी सीप र सूचना बेगर दलालहरूको फन्दामा परेर विदेश गएका महिला अनेक समस्यामा पर्ने गरेको उदाहरण छ ।

सामीकी संयोजक रीना श्रेष्ठले रोजगारीको लागि भन्दै विदेशमा बेचिएका महिलामाथि यौनशोषण लगायतका शारीरिक शोषण हुने गरेको पाइएको बताइन् । ‘यहाँ भनेका भन्दा अर्कै काम र सेवा सुविधा निकै कमी दिने गरेको पनि देखियो,’ उनले समस्या सुनाउँदै भनिन्, ‘विभिन्न किसिमका शारिरिक शोषण हुने भएपछि गैर कानुनी रुपले आफूले काम गरिरहेको स्थानमाबाट अन्यत्र जानेहरु बढी हराएका उदाहरण पनि छ ।’ उनले महिलाहरू वैदेशिक रोजगारको नाममा बेचिएका, बेपत्ता भएका, ठगिएका, राहदानीलगायतका महत्वपूर्ण कागजात जफत गरिएका र ज्यान समेत गुमाएका घटना सामी कार्यालयमा दर्ता भएका छन् । श्रेष्ठका अनुसार, २०७१र७२ यता मात्र ८३ वटा यस्ता घटना दर्ता भएका छन, जसमध्ये पाँचजना महिला अहिलेसम्म बेपत्ता छन् ।

महिलाहरु आफू वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने विषयहरुबारे जानकारी नराख्नु नै जोखिममा पर्ने प्रमुख कारण रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विमलराज कणेल बताउँछन् । ‘महिलाहरु अब आफै सक्रिय हुनुपर्छ, अरुको लर्है लहैमा लाग्दा विदेशमा जोखिम बढेको देखिन्छ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदा आफै जाने देशको भूगोल, भाषा, परिवेश र त्यहाँका कानुन कम्ती कस्तो छ भने हेक्का राख्नुपर्छ ।’ उनले विदेश जानुपूर्व आफूले गर्ने कामको प्रकृति, कम्पनीबारे अपडेट भएमा जोखिम न्यूनीकरण हुने दाबी गरे । ‘वैदेशिक रोजगार एउटा बेचबिखनको कानुनी बाटो हो,’ उनले भने, ‘पहिला लुकीछिपी बेचविखन हुने गर्दथ्यो, अहिले प्रक्रियागत रुपमै कागजात मिलाएर हुने गर्छ ।’ उनले चेलीबेटी बेचिने मुख्य गन्तव्य खाडी मुलुक बनेको बताए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा राहानी सिफारिसका लागि आउनेहरुमा पुरुषको तुलनामा महिला हुन थालिसकेका छन् । पछिल्ला केही वर्षदेखि महिलाहरुको संख्या बढ्दो छ । कार्यालयकाअनुसार वैदेशिक रोजगारका नाममा यहाँका चेलीबेटी ओमन, मलेशिया, यूएई, कतार, कीर्गिस्तान, कुवेत, साउदी अरेबिया, सिरिया, लेबनानलगायतका देशमा समेत गइरहेका छन् । कार्यालयका प्रशासकीय अधिकृत पिताम्बर पाण्डे भन्छन्, ‘हेर्दा दलाल वा म्यानपावर कम्पनीबाट रोजगारीको लागि विदेश गएको जस्तो देखिन्छ । वास्तविकता बेचबिखन नै हो ।’ घटना र विचारबाट