प्रदेश सभा तयारी शुन्यः प्रमुख र अस्थायी मुकाम तोक्न दलहरुसँग छलफल गर्ने

609
views

काठमाण्डौ, २८, पुस । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो । तर पुनः एकपटक सर्वदलीय बैठक बसेर छलफल गर्ने तयारीमा सरकार रहेको छ ।

सर्वदलीय बैठकपछि बस्ने आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोक्ने मनस्थितीमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् । मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म दलीय सहमतिमा नै गएर नियुक्ति गर्ने बताएका थिए । बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकामबारे धेरैबेर छलफल भए पनि निर्णय हुन नसकेको हो ।

वाणिज्य मन्त्री मिन विश्वकर्माले आगामी बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने विषयमा सरकारले अझै एकपटक दलहरुसँग छलफल गर्ने बताए । सरकारले तोकेको प्रदेश प्रमुखलाई आगामी सरकारले परिवर्तन नगरोस् भन्ने चाहना प्रधानमन्त्री देउवाले राखेका छन् । त्यसैले पनि दलीय सहमति आवश्यक रहेको देउवाको ठहर छ ।