अलैंचीको मूल्यमा वृद्धि हुँदा किसानमा खुसीयाली

898
views

लमजुङ, २ माघ । कालो सुन अर्थात अलैंचीको मुल्यमा केही बृद्धि भएपछि लमजुङका अलैंची कृषकहरुमा खुसीयाली भित्रिएको छ । निरन्तर मुल्य घटिरहेका बेला निराश बनेका उनिहरुले मुल्य बढेपछि कही राहत महसुस गरेका हुन् ।

मुल्य बढेपछि ब्यापारीहरुले कृषकको घरमै गएर अलैची खरीद गर्न थालेका छन् । बजारमा ल्याउँदा खरिद गर्न नपाइने भएकाले घरमा नै खरिद गर्न थालेको नेपाल अलैची व्यावसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङ बताए । ‘ जिल्लामा उत्पादन भएको ८० प्रतिशत अलैंची विक्री भईसकेको छ ।’ उनले भने, ‘मुल्यवृद्धि भएसँगै बाँकी रहेको अलैंचीको माग अत्याधिक छ ।’

अध्यक्ष तामाङका अनुसार मुल्य वृद्धि भएसँगै उच्चस्तरको जम्बो जेट (जेजे) अलैंची प्रतिकेजी ११०० रुपैया, दोस्रो तहको मध्यम आकरको (एसडी) अलैंची प्रतिकेजी मुल्य एकहजार ५० छ भने तेस्रो तहको सामन्य चलनचल्तीको अलैंचीको मुल्य (सिसी) प्रतिकेजी एकहजार रुपैंया रहेको छ ।

अलैची विक्री भएसँगै ओरालो लागेको अलैचीको मुल्य बढेपछि राहत मिलेको अलैची कृषक सुलबहादुर तामाङले बताए । उनले भने केही दिन अघिसम्म प्रतिकेजी ५ सय ५० देखि ७ सय ५० रुपैयामा आफुले अलैंची विक्री गरेपनि मुल्य बढेसँगै आम्दानी बढ्ने भएपछी खुसी छु ।नेपाल अलैंची व्यावसायी महासंघ लमजुङका अध्यक्ष तामाङका अनुसार दुई वर्षयता अन्तराष्ट्रिय बजारमा अलैंचीको मुल्यमा लगातर गिरावट भएको अलैचीको लामो समयपछि मुल्यवृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा अलैंचीको माग बढेकाले अर्लैचीको मुल्यमा वृद्धि भएको तामाङको भनाई छ ।

जिल्लाको साविक ४० गाविसमा लगाइएको अलैंची खेतीबाट यस वर्ष जिल्लामा ६०० क्विन्टल अलैंची उत्पादन भएको छ । लमजुङका अलैची कृषकले गत वर्ष ८ सय २१ क्वीन्टल अलैची विक्री गरेर करिब १४ करोड रुपैँया आम्दानी गरेका थिए । यसवर्ष भने बोटहरु पुराना भएकाले उत्पादनमा हस आएको हो ।

यसवर्ष दोर्दी गाउँपालिका ८ खिन्चोकका मनबहादुर तामाङले आठ क्विन्टल, जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन गरेका छन् भने दोर्दी ८ कै तिर्थ तामाङले साँढे ६ क्विन्टल र मस्र्याङ्दी गाउँपालिका ७ छिनखोलाका लाल बहादुर तामाङले साढे ५ क्विन्टल अलैंची उत्पादन गरेका छन् ।

यस वर्ष अलैंची बिक्रीबाट किसानलाई ४ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ । वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार जिल्लामा ९ सय ५० हेक्टर जमिनमा अलैंची खेती गरिएको छ ।