राजनीति र अदालतबारेमा रहने भ्रम र यथार्थ

481
views

– दामोदर पौडेल

चुनावमा धेरै प्रतिबद्धता आउँछन् । चुनावमा हुने नहुने कुरा धेरै नै गरिन्छन् । जनताले ती कुरालाई फिल्टर गर्न सक्नु पर्दछ । पुरा नहुने वाचा गर्नेलाई भन्न सक्नु पर्दछ कि पुरा नहुने कुरा किन गरेको ? के अर्को पटक चुनावमा आउंदा मैले त गर्न खोजेको थिए विपक्षीले गर्न दिएन भन्नलाई हो ? जस्ता सवाल जनताले राख्न सक्नुपर्ने हो । अन्यथा जति धेरै झुठा कुरा गरेर जनतालाई झुक्याउन सकियो त्यही नै बहादुर र विजेता हुन्छ ।
एउटा पुरानो ठट्यौली छ र त्यसमा भनाई छ कि एकजना नेता पञ्चायतको समयमा मन्त्री भएछन् । कुनैबेला सुन तस्करी गर्दा उनी थुनिएछन् । छुटेपछि चुनाव आएछ र उनले भनेछन् कि मेरा घरकालाई त सुन पुगेकै थियो, वरपरका दिदी–बहिनीहरूलाई पनि केही सुन लगाइदिउँ भनेको विमानस्थलमा सरकारले लुट्यो । अब जितेँ भने तपाईंहरूलाई सुन लगाइदिने मेरो इच्छा पूरा गर्ने छु । यसपछि उनले चुनाव पनि जिते । यसरी जिते, तर झुठा भ्रमका आधारमा जित्नु र जिताउनुले राम्रो त गरेन, गर्दैन ।नेपालमा देशको राजश्वले कर्मचारी समेतका तलब र साधारण खर्च पनि पुग्दैन ।

यस्तो अवस्थामा हामीले विकास गरेको वा गर्ने भन्ने गर्ने भन्ने कहाँबाट आउँछ ? जबसम्म कुनै पनि दलले आफ्नो देशको आम्दानीले साधारण खर्च वाहेक विकास खर्चको जोहो गर्न सक्दैन तबसम्म मेरो दलले विकास गरेको गर्ने भन्नुको कुनै औचित्य हुँदैन । चाहे वृद्ध भत्ता होस् वा अन्य खर्च ती पनि विदेशीेले सहयोग नगरे दिन नसकिने हो । विदेशीले सहयोग नगरेर पनि दिन खोज्दा मुद्रा स्फिती बढेर देश कंगाल हुने हो भने त्यसको कुनै औचित्य हुँदैन । जनतालाई झुक्याउने अवस्था तबसम्म रहिरहन्छ जबसम्म जनता सचेत हुँदैनन् वा जबसम्म लोकतन्त्र र बहुलवादको कारणले मात्र गलतलाई गलत भन्ने अधिकार संधै सुरक्षित हुन्छ भन्ने सोच्दैनन् ।

अहिले पनि एमालेमा ओलीहरू वहुलवाद र लोकतन्त्रको पक्षमा छन् भने त्यसको विरोधी पनि एमालेमा छन् । माओवादीमा त त्यो संख्या अझ धेरै छ । जीतबाट खुसी हुनु भन्दा मैले भोट दिएर जित भयो तर यसले मेरो र मेराहरूको भविष्य सुरक्षित छ कि छैन भन्ने महत्वपुर्ण हो । मेरा दुश्मनहरूले बोल्न नपाउने ब्यवस्था ल्याउने भन्ने सोच्दा कुनै दिनमा दुश्मन भन्ने नै सत्तामा पुग्यो वा मेरा नेताहरूले नै मेरो कुरा नसुनेर दुश्मनी गरे भने मेरो हालत के हुन्छ भन्ने सोच्नु महत्वपुर्ण हो ।

जित र हार महत्वपुर्ण हो तर त्योभन्दा बढि महत्वपुर्ण भनेको सत्यताको पक्षमा संकल्प हो । बीपीले भनेका छन् कि जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिबद्धतामा निर्भर गर्दछ । मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ । जितभन्दा ठुलो त लक्ष्य राम्रो हुनु हो, गलतले जितेमा त्यसको औचित्य उल्टो हुन्छ भन्ने उनको मान्यता हो ।

बीपी अझै जोड दिन्छन् कि मैले बुझेको जिबन नै त्यही किसिमको हो । अरु किसिमको जीवनलाई मैले बुझेको छैन । र, अरु थप्दछन् कि मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक ब्यवस्था श्रृजना गर्न चाहेको थिएँ, जुन कुरा सफल भएको भए त्यसको असर मलाईभन्दा अरुलाई वढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ । तर जहाँसम्म मेरो ब्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन । आफूले चाहेको काममा आफ्नो सम्पुर्ण क्षमताको प्रयोग गरियो र आफूले सक्ने जति सम्पुर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमान्दारीसाथ मान्न सक्दछ भने त्यसले मानिसलाई सन्तोष दिन्छ । मलाई अनुभव भएको कुरा पनि यही हो । सााधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन । तर जब म मानिसहरूले सस्तो सफलता प्राप्ता गरेको देख्दछु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन । असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एक प्रकारको आत्मिय आनन्द हुन्छ, मलाई यही नै भयो भन्ने लाग्दछ ।

बीपीको यो भनाइको सार भनेको विजय ठुलो त्यतिबेला मात्र हुन्छ जब विजय गर्नेलाई आत्मसन्तुष्टि प्राप्त हुन्छ । आत्मसन्तुष्टिको लागि सफलताको सार सत्य हुनु पर्दछ । चोरलाई पनि चोरेर सम्पत्ति जम्मा गर्दा आनन्द होला तर आत्मिक आनन्द हुँदैन । आत्मिक आनन्दको रहस्य भनेको आंफुलाई नराम्रो लागेको र राम्रो लागेको कुरा सबैलाई त्यस्तै लाग्नु पर्दछ भन्ने होइन । तर आफू सफल हुने, कहिले असफल पनि हुने र कहिले सफल भए पनि वा नभए पनि आफूले राम्रो भन्ने ठानेको कुरा अरुबाटै बुझ्दा नराम्रो भन्ने थाहा हुने र सच्चिने अवस्था मानिसमा आउँछ । राजनीति पनि त्यसबाट अलग हुँदैन । त्यसैले राजनीतिमा पनि आफूले जे भनेर सफल भए पनि जनताले आफ्नो भनाइलाई माने पनि मेरो सफलताको आधार गल्ती हुन सक्दछ, त्यो भन्दा अझ राम्रो विषय आउन सक्दछ ।

समयको अन्तरालमा मेरो सफलता अप्रासंगिक वा सुधार गर्नपर्ने हुन सक्दछ भन्ने भावनाको सवैभन्दा ठुलो महत्व छ । त्यसैले सफलतालाई समय समयमा कसी लगाउन पाउने परिपाटीप्रतिको सम्मान नै आत्मिक आनन्दको राजनैतिक र राजकीय पाटो हो । यो भनेकै बहुदल र बहुलवादप्रतिको सम्मान हो । बहुलवाद र बहुदलप्रति सम्मान हुनेले सरकारमा हुँदा गल्ती गरे पनि तपाईं प्रतिपक्षमा हुँदा किन मेरो गल्ती औंल्याउनुभएन भन्न सकिन्छ र गल्ती औंल्याएमा सुधार गर्न सकिन्छ । सुधारिएन भने अर्को पक्षले त्यो विषय चुनावमा जनसमक्ष लग्न सक्दछ । यो वबजोड आनन्दको लागि लड्ने योद्धा थिए बीपी, जसलाई जित र हारभन्दा वढि महत्व आफ्नो आस्थाको जनहितसँग रहेको सम्बन्धसँग थियो ।

त्यसैले भनिन्छ कि प्राय लोकतन्त्रमा सरकार अस्थिर हुन्छ र ब्यवस्था स्थिर हुन्छ । लोकतन्त्रवाहेक अरु ब्यवस्थामा सरकार स्थिर देखिन्छ तर ब्यवस्था अस्थिर हुन्छ । किनभने सामान्य गल्ती भएमा वा जनताको इच्छाविपरीत काम भएमा सरकार बदलिन सक्दछ र चुनावमा त मतैको माध्यमवाट सरकार वदल्न सकिन्छ । त्यसैले प्रधान रुपमा विमतिलाई समेट्न सक्ने प्रणाली छ भन्ने धेरैलाई नै विश्वास हुन्छ । तर अन्य ब्यवस्थामा जनताले सजिलैसँग सरकारको आलोचना गर्न नपाउने, सल्लाह दिन नसक्ने र सल्लाह दिए पनि सरकारी पक्षलाई नराम्रो लागेमा सल्लाह दिनेलाई नै अन्यथा हुने गर्दछ । त्यसैले सरकार परिवर्तन कमै हुन्छ र भए ब्यवस्था परिवर्तन नै हुन सक्दछ ।

पाकिस्तानमा सैनिक शासन धेरैपटक आए तर सरकार परिवर्तन भएन । शोभियत रुसमा सरकार परिवर्तन छिटो र अस्वभाविक रुपमा भएन तर लामो समयपछि भने पनि ब्यवस्था नै परिवर्तन भयो । जापान, भारत, वेलायत जस्ता देशमा सरकार परिवर्तन भइरहन्छन् तर ब्यवस्था परिवर्तन हुँदैन । यसले के देखाएको छ भने निमुखाले पनि लोकतन्त्रमा सरकार परिवर्तन गर्न सक्दछन् । गैरलोकतान्त्रिक परिपाटीमा सरकार परिवर्तन कठिन हुन्छ र सरकारले गल्ती गरेमा पनि बदल्नको लागि बन्दुक वा संघर्ष गर्नपर्ने हुन्छ । त्यही सरकार परिवर्तनलाई सहज बनाउने परिपाटीको पक्षमा रहनेले आफ्ना गल्तीहरू स्वीकार गर्न कवुल गरेको हुन्छ । लोकतन्त्रमा ब्यवस्था र सरकार दुवै संविधन र कानुन अनुसार स्थिर भएको एक मात्र लोकतान्त्रिक देश भनेको संयुक्त राज्य अमेरिका मात्रै हो ।

तर लोकतन्त्रमा पनि न्यायालय दलीय भागवण्डामा विभाजित भयो र भ्रष्टाचारमा डुब्यो भने त्यो एक प्रकारको तानाशाहको रुप हुँदोरहेछ । गल्ती गर्ने तर गल्ती गरेकोमा विमति राख्न नपाइने भनेको अदालतमा नै हो । फैसलामा गल्ती भएमा पनि मुद्धासँग सरोकार राख्नेले मात्र विमति राख्न सक्दछ र माथि पनि गल्ती नै गरे त्यसैलाई न्याय भन्ने मान्नु पर्दछ । संविधान र कानुनमा नै लेखेको छ कि अदालतको अन्तिम निर्णय सबैले मान्नुपर्ने छ । कानुनको शासन र न्यायालयको सर्वोच्चताको दुरुपयोग हुँदा त्यहां कानुको दुरुपयोग र न्यायिक स्वच्छन्दता शासन पनि हुन जान्छ । अदालत निस्पक्ष भएमा लोकतान्त्रिक राजनीतिमा फरक किसिमका निर्णय हुँदैनन् र जनताको अदालतप्रति आस्था वढ्दा लोकतन्त्र प्रतिको आस्था पनि बढ्छ ।

त्यसैले लोकतन्त्रमा सरकारले गल्ती गरे जनताले मतले सजाय दिन्छन् र न्यायालले गल्ती गरे त्यो सजायविहीन हुन्छ । त्यो नै न्यायीक स्वच्छन्दता वा अराजकता हुन्छ वा न्यायाधीशबाट भएको अदालतको अपहेलना हुन्छ । तर त्यसलाई रोक्न जनताले केही गर्न त पाउनुपर्ने हो । त्यो उपाय भनेको अनसन, चर्चा आदि नै हुन्छन् । महाभियोग त सबै दलका प्रतिनिधि जस्ता न्यायाधीशहरू भएको ठाउँमा प्रायः असम्भव हुँदोरहेछ र त्यो जनताको प्रत्यक्ष अधिकार पनि होइन । त्यसैले नेता अराजक भए जनताले सजाय दिने तर न्यायाधीश अराजक भए र अदालतको अपमान गरे कसले सजाय दिने भन्ने सवालको जवाफलाई उजागर गर्ने कि ? घटना र विचारबाट